ठुला आलु फलाउने किसान सम्मानित

चरीकोेट, असार २७ गते । दोलखाको शैलुङ गाउँपालिकाका किसान तेजबहादुर कार्कीले ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको छ । गाउँपालिका-८ भैँसेका किसान कार्कीले आलुखेती गर्न लागेको निक्कै समयपछि पहिलो पटक ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको हो ।

शैलुङ गाउँपालिकाले वडा नम्बर ८ को संयोजनमा प्रथम आलु प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो । शैलुङबाट जाने आलु मुडेको आलुको नामले देशभरि नै प्रसिद्ध रहेकोले त्यसलाई शैलुङकै ब्राण्ड बनाउन र आलु उत्पादन गर्ने किसानलाई थप प्रोत्साहित गर्न पुरस्कारसहितको आलु प्रदर्शनी कार्यक्रम आयोजना गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर तमाङले बताउनुभयो । आलु प्रदर्शनी कार्यक्रममा शैलुङ वडा नम्बर ८ का २७ जना आलु उत्पादक किसानको सहभागिता रहेको र प्रदर्शनीमा राखिएका सबै आलु उत्कृष्ट रहेको वडा अध्यक्ष धनबहादुर तमाङको भनाइ छ ।

आलु बेचेर मात्र पैसा पाएको थिएँ, पहिलो पटक ठुलो आलु फलाएर ४५ सय नगदसहित प्रमाणपत्र पाएपछि खुसी भएको कार्कीले बताउनुभयो । २६ सय ७६ ग्रामको एउटा आलु फलाएर प्रथम पुरस्कार पाएका कार्कीले यो पुरस्कारले आफू थप उत्साहित बनेको बताउनुभयो ।

२५ सय ७४ ग्रामको एउटा आलु फलाएर शैलुङ ८ ढाडेका भोला कोइराला दोस्रो स्थानमा आउनुभएको हो । यस सम्मानले आफूलाई आलुखेती गर्न थप उत्साहित बनाएको उहाँले बताउनुभयो। स्थानीय सरकारले किसानलाई प्रोत्साहित गर्न यस्तै रचनात्मक कार्यक्रम र सहयोगी कार्यक्रम गर्नुपर्ने भोलाको भनाइ छ ।

प्रतियोगितामा शैलुङ ८ पैतीका टीकाबहादुर कार्कीले फलाएको २५ सय ६२ ग्रामको आलु तेस्रो स्थानमा र शैलुङ ८ तमाखुबारीका भीमबहादुर बस्नेतले फलाएको २५ सय ३० ग्रामको आलु सान्त्वना भएको वडा नम्बर ८ का दीपेश श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा द्वितीय हुनेलाई नगद तीन हजार र प्रमाणपत्र, तृतीय हुनेलाई नगद एक हजार पाँच सय र प्रमाणपत्र तथा सान्त्वना हुनेलाई नगद एक हजार र प्रमाणपत्र दिइएको उहाँले बताउनुभयो ।

पछिल्ला वर्षहरूमा शैलुङ ८ को विभिन्न टोलका किसानहरूले व्यावसायिक रूपमा ठुलो परिमाणमा आलु उत्पादन गर्दै आएका छन् । वडा नम्बर ८ का किसानले वार्षिक झण्डै पाँच हजार मेट्रिक टन आलु उत्पादन गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ । शैलुङमा उत्पादन हुने आलुको मुख्य बजार राजधानी काठमाडौं हो । त्यसबाहेक दोलखा सदरमुकाम चरिकोटलगायत जिल्लाका अन्य बजार र छिमेकी जिल्लामा समेत शैलुङको आलु पुग्ने गरेको स्थानीय किसानहरू बताउँछन् ।

Back to top button