नाम्दुमा व्यावसायिक रुपमा ड्रागन फ्रुटको खेती

चरीकोट, साउन १८  गते 

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुमा व्यावसायिकरुपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक मानबहादुर तामाङ व्यावसायिक रुपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो ।
जिल्लामै पहिलो पटक भिन्न र नयाँ खालको सिउँडी प्रजातीको ड्रागन फलको खेती सुरु गर्नुभएका ६९ वर्षिय तामाङको फर्ममा अहिले मनै लोभ्याउने गरि ड्रागन फल्न थालेको छ । कृषक तामाङले भन्नुभयो फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने आशा छ । सुख्खा पाखोमा ड्रागन होला र भन्ने हरुनै दैनिक फार्ममा ड्रागन फुलेको र फलेको हेर्न आउँदा आफैंलाई अचम्म लाग्ने गरेको उहाँले बताउनुभयो ।
तामाङले व्यवसायीक ड्रागन खेती सुरु गरेको २ वर्ष भयो । अघिल्लो वर्ष सुरुवातको समय भएकाले केहि बोटमा चाख्नका लागी मात्रै ४०/६० वटा ड्रागन फलेको उहाँले बताउनुभयो । ८ रोपनीमा लगाइएको सबै ड्रागन फल्न थालेको उहाँको भनाई छ । । २ वर्ष अघि तामाकोशी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर सुरु गरिएको ड्रागन खेतीले यस वर्ष भने करिब ४ लाख आम्दानी गर्ने आशा रहेको उहाँले बताउनुभयो ।
समुन्द्री सतह देखि करिब १४ सय उचाई पर्ने नाम्दुमा सिंचाइ तथा खानेपानीको समस्या थियो । तर बैतेश्वर गाउँपालिकाको एक घर एक धारा कार्यक्रमल व्यवसायमा सहयोग पुगेको तामाङले बताउनुभयो ।
अघिल्लो वर्ष लगाइएको छ सय बोट ड्रागन यस वर्ष फुलेर फल दिने अवस्थामा रहेका छन । परम्परागत खेती गर्दै आइरहेका किसानलाई आधुनिक प्रजातिका फलफूल खेती गरेर पनि व्यवसायीक र आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण दिन आफुले जिल्लामै पहिलो ड्रागन खेती सुरु गरेको उहाँले बताउनुभयो ।
बहुउपयोगी फलका रूपमा चिनिएको ड्रागन फलको कोपिला, फूल र फल सबै उपयोगी हुन्छ । फूल फुलेको तीन दिनमा झर्ने र करिब ५० दिनमा फल पाकेर खान योग्य हुन्छ । ड्रागन फल बजारमा प्रतिकिलो ८०० रूपैयाँसम्म बिक्री हुने गरेको छ ।

 

Back to top button