दोलखाको मालुमा ग्रामीण आाखा केन्द्र सञ्चालन

चरीकोट, साउन १८ गते

दोलखा जिल्लाको तामाकोसी गाउँपालिकामा मंगलबारबाट ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । पालिकाको वडा नम्बर ४ मालुमा स्थापना गरिएको केन्द्रको मंगलबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसी र उपाध्यक्ष सिर्जना सुबेदीले संयुत्त रुपमा उद्घाटन गर्नभएको हो ।
तामाकोसी गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच पालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने सहमति भएको थियो । सोहीअनुसार गाउँपालिकाले केन्द्र सञ्चालनका लागि पालिकाले भवनसहित आवश्यक सामाग्री उपलब्ध गराएपछि मंगलबारबाट पालिकामा आँखा केन्द्र सञ्चालनमा आएको हो ।
केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारणले पालिकामै सहजै आँखाको उपचार पाउने भएका छन्। केन्द्रको उद्घाटन गर्दै पालिकाका अध्यक्ष केसीले आर्थिक रूपमा विपन्न र दूरदराजका नागरिकले सहज रूपमा आँखा परीक्षण र उपचार पाउने बताउनुभयो । तामाकोसी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास प्राथमिकताका साथ अगाडी बढाइरहेको बताउदै केसीले आँखा उपचार केन्द्रको स्थापनाले पालिकाका आँखाका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुदै उपाध्यक्ष सुवेदिले आँखा केन्द्रले मालुमा मात्र नभएर सबै वडाका समुदायमा नै सेवा दिने योजना रहेको बताउनुभयो । आाखा केन्द्रले गाउँपालिका भित्रका विध्यालयमा नै पुगरे आँखाको परिक्षण गरिने उहाँले बताउनुभयो ।
आँखा केन्द्र उद्घाटनको अवसर पारेर मंगलबार एकदिने निःशुल्क आँखा शिविरसमेत सम्पन्न भएको छ। शिविरमा एक सय ५ जनाको आँखा परीक्षण गरिएकोमा समस्या देखिएका अधिकांश विरामीलाई निशुल्क औषधी वितरण गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले बताउनुभयो । शिविरमा १८ जनालाई चस्मा समेत वितरण गरिएको शाखा प्रमुख मिश्रले बताउनुभयो ।
आवश्यक जनशक्तिको व्यवस्थापनसहित उहाँहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको लागी आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर न्युनतम शुल्कमा सेवा सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रले आँखा जाँच, मोतिया बिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराउने छ ।
आँखाको स्वास्थ्य जाँच गराउन यसअघि तामाकोसीबाट सदरमुकाम चरीकोट तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको र यसबाट बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सोही वडाका वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो ।
तिलगंगा आँखा प्रतिष्ठान,दोलखा लायन्स क्लब र तामाकोसी गाउँपालिकाको सहकार्यमा उक्त आँखा केन्द्र सञ्चालनमा आएको हो। आँखा केन्द्र सञ्चालनमा ल्याउन करिब १५ लाख रुपैयाँ लगानी भएको शाखा प्रमुख मिश्रले बताउनुभयो ।
आँखा केन्द्रमा एकजना नेत्र सहायक र एकजना कार्यालय सहयोगी राखिएको गाउँपालिकाले जनाएको छ।

Back to top button