वडाका बिपन्न नागरिकहरुलाई निशुल्क एम्बुलेन्स

चरीकोट, साउन १८ गते

दोलखाको भिमेश्वर नगरपालिकाको वडा नम्बर ५ ले आर्थिक रुपले पिछडिएका, न्यून आय भएका विपन्न पहिचान नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
वडाका नागरिक बिरामी भएको खबर वडाका जनप्रतिनिधि जोकोहीलाई खबर गरेमा एम्बुलेन्स खर्च वापत नगद ५ हजार दिने वडाले निर्णय गरेको छ ।
भीमेश्वर नगरपालिका—५ का वडा समितिको निर्णयअनुसार वडाले मागेको कागजात पूरा गरेर वडा कार्यालयमा पेश गरेमा नगद पाँच हजार भुक्तानी गरिने वडाअध्यक्ष बासु श्रेष्ठले बताउनुभयो । नगद भुक्तानीको लागि नेपाली नागरिकताको प्रतिलिपि, एम्बुलेन्सलाई तिरेको रकमको बिल भर्पाइ र काठमाडौंका जुनकुनै अस्पतालमा भर्ना भएको बिरामी कार्ड वडा कार्यालयमा पेश गर्नु पर्ने वडा कार्यालयले जनाएको छ ।
वडाले आफ्ना नागरिकहरुलाई स्वस्थ र निरोगी राख्नको लागि स्वास्थ्यकर्मीलाई घर घरमै लगेर स्वास्थ्य परीक्षण र हर्लिस, फलफूल वितरण गर्दै आएको वडाअध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचित भएपछि आफुले पाउने सेवा सुविधाको रकम नलिने घोषणा गरेका वडा अध्यक्ष श्रेष्ठले सेवा सुविधाको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन ।

Back to top button