दोलखामा सोह्र हजार घर खाली

चरीकोट, भदौ १२ गते । गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले दोलखाका १६  हजारभन्दा बढी घर खाली छन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएर अनुदानमा निर्माण गरिएका अधिकांश घर पनि खाली छन् ।

२०७८ सालको जनगणना अनुसार जिल्लामा बनेका ७८ हजार २२९ घरमध्ये ४५ हजार ९५४ घर प्रयोगमा छन् भने १६ हजार ९१ अर्थात् २० प्रतिशत घर खाली छन् । अहिले गाउँमा घर कुर्ने काम ६० वर्ष कटेका वृद्धवृद्धाको बनेको छ ।

कालिञ्चोक गाउँपालिका–४, घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मानिस बस्ने गरेका छन् । बाँकी २२ घरपरिवार अनुदान लिएर गाउँमा घर बनाएर बसोबास चाहिँ काठमाडौँमा गर्दै आएका स्थानीय रीता सुवेदीले जानकारी दिनुभयो ।

“गाउँमा सडक र विद्युत् पुगेको भए पनि गाउँमा बस्न चाहने मान्छे थोरै छन् । गाउँमा बिरामीलाई औषधी ल्याइदिने र स्वास्थ्य चौकीसम्म लगिदिने मान्छेसम्म छैनन्,” तामाकोशी गाउँपालिका–१, भिरकोटका केशव काफ्लेले भन्नुभयो । उहाँले पनि सरकारी अनुदान लिएर छोराका लागि घर बनाइदिनुभयो तर अहिले त्यो घरमा बस्ने कोही छैन । उहाँको मात्र हैन सो क्षेत्रका अधिकांशले गाउँबाहिर रहेका छोराको नाममा अनुदान लिएर घर निर्माण गरेका छन् । गाउँमा सरकारी अनुदानमा बनेका दुईकोठे अधिकांश घरमा ताला लागेको छ ।

भूकम्पपछि जिल्लामा ७४ हजार भूकम्पपीडित लाभग्राही सूचीकृत भएका थिए । जिल्लाभर ६७ हजारले भूकम्पपीडितको घर बनाएर तेस्रो किस्ता लिएको सघन सहरी भवन निर्माण आयोजनाको तथ्याङ्क छ ।

स्थानीय तहले गाउँ गाउँमा सडक, शिक्षा, यातायात, खानेपानीलगायतका पूर्वाधारमा लगानी गरे पनि नागरिक बाहिरिने क्रम नघटेको मेलुङ गाउँपालिकाका अध्यक्ष हीराकुमार तामाङले बताउनुभयो । भूकम्पपछि जिल्लाभर अत्याधुनिक विद्यालयका भवन बने पनि अध्ययन गर्ने विद्यार्थी भने बर्सेनि घट्दो रहेको उहाँले गुनासो गर्नुभयो ।

रातो जस्तापाताले छाइएका एकनासका घरले आकर्षक देखिने भीमेश्वर नगरपालिका–१, पानीपोखरीमा निर्माण गरिएको एकीकृत बस्तीका घरमा ताला लागेको छ । ५७ परिवारका लागि निर्माण गरिएको सो बस्तीमा हाल १० परिवार मात्रै बस्ने गरेको स्थानीयले बताएका छन् । – gorkhapatra

Back to top button