वडाले सिस्नो संकलन गरि प्रशोधन गर्ने

दोलखा ,भदौ १५ गते

दोलखाको तामाकोसी गाउँपालिका ४ मालुमा सिस्नो प्रशोधन गरिने भएको छ। खेर गइरहेको सिस्नो संकलन गरि प्रशोधन गरिने भएको हो । आफै उम्रने सिस्नो वडामा प्रशस्त पाइने भएकाले सिस्नो प्रशोधन गर्न र रैथाने बाली प्रबर्द्धन गर्न ३ लाख ४० हजार बजेट बिनियोजन गरिएको तामाकोसी गाउँपालिका ४ मालुका वडा अध्यक्ष नारायण खड्का (सुरज ) ले बताउनुभयो ।
सिस्नो प्रशोधन उद्योग स्थापना गरेर स्थानीयहरुको आयआर्जन बढाउने उदेश्यले बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो ।
उनीहरूले सिस्नो उद्योग स्थापनाले आयआर्जनमा टेवा पुग्ने विश्वास गरे। ‘यहाँ सिस्नो जहाँतहीँ भेटिन्छ। बर्सेनि खेर गइरहेको हुन्छ। सिस्नोको महत्वबारे जानकारी नहुँदा सही प्रयोगमा आउन सकेको छैन,’ वडाध्यक्ष खड्काले भन्नुभयो ‘उद्योग स्थापनाले खेर गइरहेको सिस्नोबाट मनग्य आम्दानी गर्न सक्ने वातावरण सिर्जना गर्ने तयारी छ।’
सिस्नो प्रशोधन गर्न सकेको खण्डमा मालुको मात्र नभई दोलखाको एक ब्रान्डका रूपमा स्थापित हुन सक्ने उहाँको भनाइ छ ।
कुनै बेला गरिबको तरकारीको रूपमा हेरिने सिस्नो अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ। यो मिठो मात्रै होइन स्वास्थ्यका लागि उपयोगी छ। यसको पात र जराको तरकारी रूपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ।

यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छन्। सिस्नो मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ भने गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ। सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ।
सिस्नो जति काट्यो त्यति बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ। पिसाब संक्रमण हुनेहरूले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ। शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ।

Back to top button