अधिकार नदिने हो भने प्रदेश खारेज गर्नुपर्छ : कुन्दनराज काफ्ले

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफ्लेले अधिकार नदिए प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । उनले अधिकार दिए प्रदेश जति विकास गर्न सक्ने र जनतालाई सजिलै हेर्न सक्ने सरकार कुनै पनि बन्न नसक्ने दावी गरे ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता काफ्लेले अधिकार दिए प्रदेश अत्यन्तै उत्कृष्ट भएको बताए । उनले भने, ‘म पनि प्रमुख सचेतक थिए अस्तीसम्म, मैले राजीनामा दिए । किन राजीनामा दिएको भने संसद्ले कांग्रेस जन्माएको होइन । कांग्रेसले संसद् जन्माएको हो । बलियो कांग्रेसले बलियो संसद चलाउन सक्छ भनेर त्यहाँ अल्मिलिनु भन्दा देशभरी घुमौं भनेरै मैले राजनीमा दिएको हुँ । ’

प्रदेशमा बिना सेनाको सेनापति र प्रहरी बिनाको गृहमन्त्री रहेको उनले बताए । उनले भने, ‘प्रहरी छैनन्, कर्मचारी छैनन् । गाउँपालिकामा प्रहरी छन्, तर प्रदेशमा प्रहरी छैनन् । कानूनमा सम्पूर्ण अधिकार छ तर, कार्यान्यवन भएको छैन ।’ संविधानको मूल मर्मअनुसार नहिड्दा समस्या भएको उनको भनाइ छ । संविधानमा भएका कुरा कार्यान्यवन गर्नुपर्नेमा काफ्लेले जोड दिए ।

जनतालाई समस्या हुने काम कांग्रेसलाई गर्ने छुट नरहेको नेता काफ्लेले बताए । उनले भने, ‘त्यो माओवादी वा अरुलाई होला । कांग्रेसले जनताको कुरा गर्ने हो ।’

कांग्रेसले मुलुकमा परिवर्तन गरेको, चेतनाको परिवर्तन गरेको, सबै ठाउँमा बाटो पुर्याएको र घरघरमा उज्यालो पुर्याएको उनले दावी गरे । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा नराखेसम्म लोकतन्त्र नै बलियो हुनै नसक्ने उनले जिकिर गरे । आफैले लेखेको संविधान कार्यान्वयन नहुँदा कांग्रेस आफै मुकदर्शक बन्ने अवस्था रहेको काफ्लेको भनाइ छ । संविधान कार्यान्वयन गर्न किन स्थानीय तहले सकेका छैनन् भन्दै उनले प्रश्न गरे । स्थानीय पालिकाले पनि धेरै समस्याहरुको न्यूनीकरण गर्न सक्ने काफ्लेको भनाइ छ ।

कांग्रेसभित्र समस्या रहेको उनले बताए । उनले प्रश्न गरे, ‘हाम्रो देशमा, गाउँगाउँमा समस्या हुने अनि किन हुँदैन कांग्रेसमा समस्या ? ’उनले व्यक्ति भन्दा संगठन सधै ठूलो हुने बताए ।

बालकृष्ण खाणमाथि कांग्रेसले अन्याय गरेको छैन

उनले नेपाली कांग्रेसले बालकृष्ण खाणमाथि अन्याय नगरेको बताए । उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन छ । अदालतले निर्णय गर्ने हो । त्यो कुरा कांग्रेसले निर्णय गर्ने होइन । तर, कांग्रेसले बालकृष्ण दाइमाथि अन्याय गरेको जस्तो लाग्दैन । ’

त्यस्तै कांग्रेस बागलुङ सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले संविधान कार्यान्वयन गर्नुपर्ने बताए । उनले थुप्रै मानिसले बलिदानले संविधानसभाबाट संविधान बनेको बताए ।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । – खबरपात्रो

 

Back to top button