विद्यार्थीको रुचि अनुसारको सिप प्रदान गर्दै गौरीशङ्कर क्याम्पस

चरीकोट, भदौ २७ गते
दोलखको गौरीशङ्कर बहुमुखी क्याम्पसले विद्यार्थीको रुचि अनुसारको सिप प्रदान गर्ने भएको छ ।जिल्ला सदरमुकाम चरीकोटमा रहेको सो क्याम्पसले विद्यार्थीको पठनपाठनसंगै रुचिका क्षेत्र पहिचान गरी जीवनलाई उपयोगी बनाउन अतिरिक्त सिप प्रदान गर्न लागेको हो ।
क्याम्पसले एक सुचना जारी गर्दै विद्यार्थीहरुलाई आफ्नो रुचि अनुसारको क्षेत्र छनोट गरि असोज मसान्त सम्म फर्म भर्न आग्रह गरेको छ ।विद्यार्थीको रुचि क्षेत्र छनौट सम्पन्न भएपछि विभिन्न विषयगत सरोकारवालासंग समन्वय र सहकार्य गरेर तालिमको व्यवस्थापन गर्ने योजना गरेको क्याम्पसले जनाएको छ।
आजको समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै कमाउँदै पढ्दै गर्न विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले तालिम व्यवस्थापनको योजना बनाएको गौरीशङ्कर बहुमुखी क्याम्पस चरीकोटका क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो । कला सिप अन्तर्गत ,गायन,वाद्यवादन,आर्ट र अभिनय रहेका छन् भने खेल समूह अन्तरगत भलिबल, फुटबल, टेबलटेनिस, व्याडमेन्टन,चेस,क्रिकेट,दौड,छेलो,ज्याम्लिन थ्रो, कवड्डि तालिम प्रदान गर्ने तयारी रहेको क्याम्पस प्रमुख केसीको भनाई छ ।
क्याम्पसले जीवनोपयोगी सिप अन्तरगत वक्तृत्व तथा उद्घोषण,आधारभूत कम्प्युटर तालिम,ग्राफ्रिक डिजाइन,सिलाइ बुनाइ,फोटोग्राफी,  अटोमोवाइल, व्युटीपार्लर,लोकसेवा तयारी लगायतका दर्जनौं सिपहरुको व्यवस्थापन गर्न लागेको छ ।विद्यार्थीले रुचिका क्षेत्र पहिचान गर्दा बढीमा २ क्षेत्रमा मात्र सहभागी हुन पाउने छन् । हालसम्म २ सयभन्दा बढी विद्यार्थीले तालिमका लागि नाम दर्ता गराइसकेको क्याम्पसले जनाएको छ । तालिमका लागि नाम दर्ता गराएका मध्ये सबैभन्दा बढी कर/भ्याट सम्बन्धी कन्सल्टेन्सी तालिममा रुचि देखाएका छन् ।
क्याम्पसले यसभन्दा अगाडि पनि विद्यार्थीका लागि ग्राफिक डिजाइन तथा उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान गरेको थियो । विभिन्न समयमा तालिम र सिप प्रदान गर्दै आएको क्याम्पसले रुचि क्षेत्र पहिचान भने पहिलो पटक अभ्यासमा ल्याएको हो ।

विद्यार्थीका लागि आकर्षकको केन्द्र बन्दै गौरीशङ्कर क्याम्पस

हिमाली जिल्लाकै सबैभन्दा ठूलो गौरीशंकर बहुमुखी क्याम्पस शैक्षिक हबको रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो ।
जिल्लाका ग्रामीण क्षेत्रबाट अध्ययन गर्नका लागी यर क्याम्पसमा विद्यार्थी आउने गरेका छन । जिल्ला भित्र मात्र नभइ छिमेकी जिल्लाबाट समेत पठनपाठनका लागि विद्यार्थी आउने गरको क्याम्पसले जनाएको छ । क्याम्पसमा कक्षा ११ र १२मा शिक्षा, मानविकी, व्यवस्थापन र कानुनका विषयको पढाइ हुने गरेको छ भने स्नातक तहमा विएड,विविएस र विए एवं स्नातकोक्तर तहमा एमएड र एमविएस कार्यत्रम सञ्चालन भइरहेका छन् । हाल क्याम्पसमा १ हजार ४ सय ३ विद्यार्थीहरु अध्ययरत छन् ।

Back to top button