गौरीशंकर क्याम्पसको अनुसन्धानमुलक जर्नल “जिएस स्पार्क” विमोचन

सुजन काफ्ले                                              दोलखा ।  हिमाली जिल्लाकै पहिलो दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसले अनुसन्धानमुलक जर्नल “जिएस स्पार्क” विमोचन गरेको छ ।सदरमुकाम चरीकोटमा रहेको क्याम्पसले शनिबार एक कार्यक्रम बिच सो पुस्तकको बिमोचन गरेको हो । शिक्षा सम्बन्धि तयार पारिएको अनुसन्धानमुलक पुस्तकको बिमोचन जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानिले गर्नुभएको थियो ।
पुस्तक विमोचन गर्नुहुँदै घतानिले बिदेश जाने क्रम नरोकिनु हाम्रो नै कमजोरी रहेको बताउनुभयो । राज्यका जनप्रतिनिधि देखि कर्मचारी सम्म सबैले आफ्नो परिवार बिदेश पठाउने क्रम रोकेर देशमा नै केहि गर्ने बाताबरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।मास्टर डिग्री पढ्नेले थेसिस लेख्नुपर्नेमा किनेर कलेजमा बुझाउने प्रवृत्ति बढ्दै गएको उहाँले बताउनुभयो । क्याम्पसलाई आवश्यक सहयोग गर्न जिल्ला समन्वय समिति दोलखा तयार रहेको उहाँको भनाइ छ।

कार्यक्रममा बोल्नुहुदै भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले हिजो आफुले अध्ययन गर्दाको समय र आजको क्याम्पसको अवस्थामा ठूलो परिवर्तन आएको बताउनुभयो । भिमेश्वर नगरपालिकालाई शैक्षिक हवको रुपमा बिकास गरिने बताउदै उहाँले क्याम्पसको शैक्षिक सुधार गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले गौरीशंकर बहुमुखी क्याम्पस हिमालि जिल्लाको नै उत्कृष्ट क्याम्पस रहेको बताउदै आगामी दिनहरुमा अनुसन्धानमा पनि उत्कृष्ट क्याम्पसको रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षा खस्किदै गएको र निजि क्षेत्रले झन कम्जोर बनाउदै लगेको बताउनुभयो। जिल्लामा मात्र नभए त्रिभुवन बिश्व विद्यालयमा कतिपय बिषयहरु बन्द गर्नुपर्ने स्थितिमा पुगेको बताउनुहुँदै  शिक्षा क्षेत्रको बिकास र परिवर्तनमा सबैजना गम्भीर हुनुपर्ने बताउनुभयो।
मेलुङ गाउँपालिका स्नातकोत्तर देखि डिग्री सम्म पढ्ने विद्यार्थीलाई ४ लाख छात्रवृत्ति दिने ब्यवस्था गरिएको र गौरीशंकर बहुमुखी क्याम्पसमा पढ्ने सो कक्षाका विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति दिने बताउनुभयो।
क्याम्पसमा बाहिरबाट हेर्दा भन्दा शिक्षाको गुणस्तर राम्रो र जिवनउपयोगि हुनुपर्ने बताउनुभयो । ११ र १२ पढ्ने बेला आर्थिक अवस्था कमजोर रहेको भनेर गाउँपालिकाले सिफारिस गर्नुपर्ने र १२ कक्षाको पढाइ सकेर बिदेश जानको लागि लाखौंको सम्पति रहेको सिफारिस बनाइदिनुपर्ने बिडम्बना रहेको थोकरले बताउनुभयो ।

जिल्लाका क्याम्पसहरुमा विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउनुहुदै क्याम्पस संचालक समितिका अध्यक्ष अमृत राउतले शिक्षाको बिषयमा जिल्लाका स्थानीय तह र राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो । क्याम्पसको बिकास र विद्यार्थीहरुलाइ आकर्षण गर्नका लागि विभिन्न शैक्षिक कार्यक्रमहरु गर्ने योजना रहेको उहाँको भनाइ छ ।

पुस्तककका प्रधान सम्पादक अन्जय कुमार मिश्रले गौरीशंकर बहुमुखी क्याम्पसले दोलखाको पहिलो रिसर्च जर्नल प्रकाशन गरेकोमा खुसी व्यक्त गर्नुभयो । जो रिसर्च गर्नुहुन्छ उहाँहरुले समाज बुझ्नुभएको छैन, जो समाज बुझ्नुहुन्छ उहाँ रिसर्च गर्नुहुन्न यो हाम्रो विडम्बना रहेको मिश्रले बताउनुभयो । पुस्तकमा १० वटा अंग्रेजी र ४ वटा नेपाली गरि १४ वटा विभिन्न शिर्षकमा लेख लेखिएको छ । १३९ पृष्ठको १ हजार प्रति प्रकाशन गरिएको पुस्तकको मुल्य ३ हजार रुपैँया रहेको छ । अध्यक्ष राउतको अध्यक्षता सम्पन्न कार्यक्रममा गाउँ तथा नगरपालिकाका प्रमुख/ उपप्रमुख, कार्यालय प्रमुख विद्यार्थी तथा शिक्षकको उपस्थितिमा बिमोचन कार्यक्रम सम्पन्न भएको थियो ।

हिमाली जिल्लाकै सबैभन्दा ठूलो गौरीशंकर बहुमुखी क्याम्पसमा जिल्लाका ग्रामीण क्षेत्रबाट अध्ययन गर्नका लागी विद्याथीहरु आउने गरेका छन । जिल्ला भित्र मात्र नभइ छिमेकी जिल्लाबाट समेत पठनपाठनका लागि विद्यार्थी  आउने गरको क्याम्पसले जनाएको छ । क्याम्पसमा कक्षा ११ र १२ मा शिक्षा,मानविकी,व्यवस्थापन र कानुनका विषयको पढाइ हुने गरेको छ भने स्नातक तहमा विएड,विविएस र विए एवं स्नातकोक्तर तहमा एमएड र एमविएस कार्यत्रम सञ्चालन भइरहेका छन् । हाल क्याम्पसमा १ हजार ४ सय ३ विद्यार्थीहरु अध्ययनरत छन् ।

 

 

Back to top button