लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तिर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दशैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उनले बताए । नयाँ पुस्ता दशैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय राधा तिवारीले बताइन् ।

“जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ”, उनले भनिन् ।

दशैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पछिल्लो समय हराउँदै जान थालेको छ । एक दशकअघिसम्म दशैँ लागेसँगै चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ पछिल्ला वर्षमा हराउँदै जान थालेका हुन् ।

दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने चाहना हुने गर्छ । तर अहिले चाहेर पनि पिङ खेल्न नपाइएको मध्यविन्दु नगरपालिका–८ का सुवास खत्रीले बताए । दशैँ आगमनको सुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाइन्छ ।

“दशैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ”, उनले भनिन्, “विशेष गरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् ।”

जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङ सहरी क्षेत्रमा देखिएका छैन भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बावियाँको डोरीको समेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको कावासोती नगरपालिका–१७ का ७४ वर्षीय युक्तप्रसाद गौडेलले बताए ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उनको भनाइ छ ।

“वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि पहिलाको जस्तो पिङ खेल्ने, दशैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, उनले भने । एकातिर बस्ती बाक्लिदै जानु र अर्कोतर्फ मोबाइल इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो ।

दशैँको आगमन झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुरबुर्जा खेललाई कानुनीरुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि लोप भएको छ ।

विशेष गरी पिङ खेल्ने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले सहरी क्षेत्रमा दशैँको वास्तविक रौनक हराउँदै जान थालेको छ ।

दशैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दशैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै जानु चिन्ताको विषय बनेको बुढापाका बताउँछन् ।

Back to top button