बागमती प्रदेश गौरवको आयोजना जिरी ताल निर्माण अन्योलमा

दोलखा । बागमती प्रदेश गौरवको आयोजना मानव निर्मित जिरी तालको निर्माण योजना अन्योलमा परेको छ । २ वर्ष अगाडी प्रदेशको गौरवको आयोजनाका रुपमा ताल निर्माण गर्ने भनिएतापनि ताल निर्माणको काम अन्योलमा परेको हो । डिभिजन सिंचाई कार्यालय दोलखाले ताल निर्माणको लाागि जग्गाको लगत संकलन गर्नेकाम गतवर्ष नै सम्पन गरेपनि निर्माणको काम अझै बढ्न सकेको छैन।
जिल्ला नापी कार्यालय तथा मालपोत कार्यालय दोलखाबाट आयोजनाको क्षेत्र भित्र पर्ने जग्गाको लगत लिई अध्ययन गर्दा ताल निर्माणका लागि करिब सात सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने देखिएको डिभिजन सिंचाई कार्यालय दोलखाका प्रशासन अधिकृत शरद दंगालले बताउनुभयो । कार्यालयले कार्यसुची तथा क्षेत्र निर्धारण प्रतिवेदन बाग्मती प्रदेश खानेपानी ,उर्जा तथा सिंचाइ मन्त्रालय पठाएको थियो । सो मन्त्रालयले बाग्मती प्रदेशको वन तथा वातावरण मन्त्रालय पठाएको र वन मन्त्रालयले प्रतिवेदनको आवश्यक परिमार्जन गरि पुन पेश गर्न डिभिजन सिंचाई कार्यालय दोलखाका मार्फत परामर्शदातालाई अनुरोध गरिएकोमा परामर्शादाता कम्पनीले परिमार्जन गरि खानेपानी ,उर्जा तथा सिंचाइ मन्त्रालय पठाईसकेको छ । सो मन्त्रालयले कार्यसुची तथा क्षेत्र निर्धारण प्रतिवेदन वन मन्त्रालय पठाउन बाँकी रहेको अधिकृत दंगालले बताउनुभयो ।ताल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको प्रयोजनका लागि लगत संकलन गर्ने कार्य सम्पन गरेर मुख्यमन्त्री कार्यालय मार्फत संघीय सरकारको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पठाईएको डिभिजन सिंचाई कार्यालय दोलखाका डिभिजन प्रमुख रुपेश महतले बताउनुभयो ।सो मन्त्रालयले मन्त्रीपरिषदमा पेश गर्ने र मन्त्रीपरिषदले पास गरेपछि वातावरणीय अध्ययन प्रतिवेदनको काम अगाडी बढ्ने उहाँको भनाई छ ।

एक किलोमिटर लामो तथा दुई सय मिटर चौडाईको हुने सो ताल निर्माणको लागि डुवान हुने क्षेत्र भित्र पर्ने १४१ कित्ता तथा ताल वरीपरी आवश्यक पूर्वाधार निर्माण तथा अन्य प्रयोजनकालागि ३३९ कित्ता अधिग्रहण गर्नु पर्ने कार्यालयले जनाएको छ ।

भारतको प्रसिद्ध पर्यटकीय स्थल नैनीतालकै आकारमा तालको निर्माण हुने भएकोले यो ताल निक्कै आकर्षक र पर्यटकीय महत्वको दृष्टीले महत्वपूर्ण हुने कार्यालयले जनाएको छ । डिपिआर अनुसार ताल निर्माणको लागत ३ अर्ब १७ करोड रहेको छ ।
सगरमाथाको द्वार तथा नेपालको स्वीजरलेन्ड नामले चर्चित दोलखाको पर्यटकीय नगर जिरी अहिले सुस्ताएको अवस्थामा जिरीलाई पुरानै लयमा फर्काउनकोलागि जिरी तालले सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिरी ताल निर्माणकालागि जिरी नगरवासीहरु सहयोग गर्न तयार रहेको तथा ताल निर्माणको काम छिटो भन्दा छिटो सुरु होस भन्ने स्थानीयहरुको चाहना रहेको जिरीका स्थानीय बिकास कार्काीले बताउनु भयो । जिरीका स्थानीयहरुले अहिले सामाजिक संजाल मार्फत ताल निमार्णको काम अगाडी बढाउन खबरदारी गरिरहेका छन । जिरी ताल र जिरीमा खस्किएको पर्यटन ब्यवसायलाई पुरानै लयमा फर्काउन खबरदारी स्वरुप जिरी नगरपालिकाका र्पुव मेयर, दोलखाबाट निर्वाचित प्रदेश तथा संघीय सांसदलाई जिरी ताल कहिले बन्छ भनेर म्यासेज गरेर खबरदारी गर्न सुरु गरेका छन ।

जिरी कृतिम ताल निर्माणको लागि कामको सुरुवात गर्नका लागि बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो रकम निमार्णको काम अगाडी बढ्न नसकेपछि फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा बाग्मती प्रदेश सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Back to top button