छौडेको स्वास्थ्य शिविरमा २५६ जनाको आँखा परीक्षण

 चरीकोेट, मंसिर १० गते । दोलखाको तामाकोशी गाउँपालिका–३ छौडेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पछिल्लो समय आँखासम्बन्धी विभिन्न समस्या र रोग देखा पर्न थालेपछि यसको न्यूनीकरणका लागि गाउँपालिकाको आयोजनामा गाउँमा  निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

गुड भिजन इन्टरनेशनलको हेड एन्टजे क्रिस्टको टिम, तिलगंगा आँखा प्रतिष्ठान, दोलखा लायन्स आँखा केन्द्रको सहयोग र तामाकोशी गाउँपालिका अन्तर्गत आँखा शिविर आयोजना गरिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिनुभयो ।

शिविरमा २ सय ५६ जनाले आँखा परीक्षण गर्नुका साथै ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको मिश्रको भनाइ छ । आर्थिक अभावकै कारण स्थानीयमा आँखामा अन्धोपनको समस्या नहोस् भन्ने उद्देश्यले आँखा शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय आँखाको बिरामी बढ्दैगएका छन् । आँखाको स्वास्थ्यबारेमा कम ज्ञान हुनु, आर्थिक अभाव, अस्पतालको सहजै पहुँच नहुनुजस्ता विभिन्न समस्याका आँखाका बिरामी दिन प्रतिदिन बढ्दैगएको उहाँले बताउनुभयो ।

गाउँमा सहजै आँखाको उपचार पाउँदा खुसी लागेको स्थानीय भीम महतले बताउनुभयो । आर्थिक रूपमा विपन्न र दूरदराजका नागरिकले सहजै आँखा परीक्षण र उपचार पाएका छन् । शिविरबाट आँखाका बिरामी लाभान्वित भएको पालिकाले जनाएको छ । शिविरमा आँखा परीक्षण पश्चात् २३ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँमा आँखाको स्वास्थ्यजाँच गराउन तामाकोसीबाट सदरमुकाम चरिकोट तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता रहेकोमा गाउँमै शिविर गरिएको र यसबाट आँखाका बिरामीलाई प्रत्यक्ष लाभ पुगेको सोही वडाका वडा अध्यक्ष रामप्रसाद काफ्लेले बताउनुभयो ।

Back to top button