कृषि क्षेत्रको बिकास प्रदेस सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

चरीकोट, मङ्सिर २८ गते
बागमति प्रदेशका कृषि तथा पशुपंक्षि विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथामिकताका साथ  अगाडी बढाएको बताउनुभएको छ ।
दोलखाको मेलुङ गाउँपालिका -६ मा रहेको साना किसान सहकारीको १२ औं साधारण सभालाइ सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभयो ।
मन्त्री श्रेष्ठले साना किसानलाई कृषि क्षेत्रमा अग्रसर गराउन साना किसान सहकारीको महत्त्वपूर्ण भुमिका रहेको
उल्लेख गर्नुहुदै सहकारीको काम प्रशंसनिय रहेको बताउनु भयो ।
देशको आर्थिक बिकास गर्न कृषिमा परिवर्तन नगरी सम्भव नहुने कुरामा जोड दिनुभयो ।कृषि उत्पादनमा बृद्धि, घरेलु तथा साना उद्योगको विकास तथा स्थानीय स्तरमा रोजगारी सृजना गर्ने कुरामा स्थानीय पालिकाहरुसंगै सबै क्षेत्रको सहभागिता आवश्यक रहने उहाँको भनाइ छ।
गाउँपालिका अध्यक्ष हिराकुमार तामाङले कृषि तथा पशुपालको क्षेत्रलाई उत्पादन मूलक र रोजगारी मूलक बनाउने कुरामा पालिकाको पूर्ण सहयोग रहेको बताउनुहुदै उहाँले किसानहरुलाई पालिकाको तर्फबाट आवश्यक कृषि प्रविधि, प्राविधिक सहयोग र विउ– विजनहरु समेत उपलब्ध गराउदै आएको बताउनु भयो ।
विगत ११ बर्ष देखि दोलखाको मेलुङ, शैलुङ र तामाकोसी गाँउपालिका कार्यक्षत्र बनाई युवाहरुलाई स्वरोजगार बनाउन, स्थानीय कृषि व्यवस्था परिर्वतन गर्न, उन्नत जानका पशुपालन तथा नश्ल सुधार गर्न तथा ग्रामिण अर्थ व्यवस्था परिर्वतन गर्न गाँउघर साना किसान कृषि सहकारी संस्था लिमिटेडले महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष श्रीराज पोखरेलले बताउनु भयो ।
ग्रामिण क्षेत्रमा साना उद्योग, व्यवसाय र कृषि उत्पादनमा बृद्धि जस्ता कुरालाई प्राथामिकता दिदै  संस्थाले १४ प्रतिशत ब्याजदरमा १२ लाखसम्म व्यवसायीक तथा लघुउद्यम कर्जा, नौ प्रतिशत ब्याजदरमा पाँच लाखसम्म पशु कर्जा, पाँच प्रतिशत ब्याजदरमा ५० हजारसम्म जिविकोपार्जन कर्जा, नौ प्रतिशत ब्याजदरमा दुई लाखसम्म तरकारी खेती कर्जा, तीन प्रतिशत ब्याजदरमा पाँच लाखसम्म बागमति प्रदेश सहुलियत कर्जा, आठ प्रतिशत ब्याजदरमा दुईलाखसम्म युवा स्वरोजगार कर्जा, १० प्रतिशत ब्याजदरमा ५० लाखसम्म ग्रामिण स्वाबलम्बन कर्जा र निर्वाजी ५० हजारसम्म उपचार खर्च कर्जा उपलब्ध गराउदै आएको अध्यक्ष पोखरेलले बताउनु भयो ।
सहकारीले गत बर्ष १८ जना सदस्यलाई इजरायलमा कृषि सम्बन्धि तालिमको लागि पठाएको अध्यक्ष पोखरेलले बताउनु भयो । इजरायल– गाजा युद्धको कारण यो बर्ष भने तालिमको लागि पठाउन नसकिएको सहकारीले जनाएको छ ।कृषकहरुसंग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलवा स्वरोजगारमूलक तालिम, विउ– विजन वितरण, कृषि प्रविधि सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीले जनाएको छ ।
Back to top button