हिउँद सकिनै लाग्दा पनि भएन हिउँदे वर्षा र हिमपात

चरीकोट, पुस २७ गते । हिमालमा हिउँ पर्नु अस्वाभाविक घटना होइन । कुनै वर्ष धेरै त कुनै वर्ष थोरै भए पनि हिमाली जिल्ला दोलखामा हिउँ पर्थ्यो । गएकका वर्षहरुमा कात्तिकदेखि नै हिउँ पर्ने गरेको दोलखाका विभिन्न ठाउँमा यो वर्ष भने न हिउँ नै परेको छ, न हिउँदे वर्षा नै भएको छ ।

हिउँ परेपछि दोलखाका होटल हरु भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटकले धानेको होटल क्षेत्रमा हिउँ नपरेकै कारण हिउँदको समयमा पनि कालिञ्चोक क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको होटल व्यवसायीहरु बताउँछन् ।

जिल्लाको मुख्य पर्यटकीय स्थलका रुपमा चिनिने कालिञ्चोक, जिरी, शैलुङ, खरीढुङ्गालगायतका क्षेत्रमा चाँदीझैँ हिउँले सेताम्मे हुन्थ्याे । हिउँ पर्ने महिना सकिन लागे पनि यसपालि दोलखामा हिउँ पर्ने छाँटकाँट देखिँदैन । हिमपातसँगै मुटु काम्ने ठिही यसपालि आएन । हिउँ हेर्न र हिउँसँग रमाउन सयौं आन्तरिक तथा बाह्य पर्यटक दोलखा आउने गरेका थिए ।

स्थानीय पुस्कर अधिकारी पुस, माघ महिनामा थेग्नै नसक्ने गरी हिउँ परेको सम्झनुहुन्छ । उहाँ भन्नु्हुन्छ,‘कालिञ्चोक, शैलुङलगायतका बस्ती सबै हिउँले सेताम्मे हुन्थे । खै किन हो, यो वर्ष हिउँको दर्शन गर्न पाइएन । मौसममा हिउँ नपरेपछि दोलखाका हिमशृङ्खला कालापत्थर जस्ता देखिएका छन् । कालिञ्चोक गौरीशङ्कर हिमाल क्षेत्र सौन्दर्यविहीन बनेकाे छ ।

यसपालि हिमपात नभएका कारण आन्तरीक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको कालिञ्चोकका अर्का होटल व्यवसायी चन्द्रकुमार लामाले बताउनुभयो । धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा आउने पर्यटकको पहिलो रोजाइ हिउँसँग रमाउने रहेको थियो । हिउँ खेल्नकै लागि भारतीय मूलका पर्यटक कालिञ्चोक आउने गरेको व्यवसायी लामाले बताउनुभयो ।

आन्तरिक तथा भारतीय पर्यटककाे दोलखा आउन लागेको हिउँ परेको छ कि छैन भनेर दैनिक फाेन आउने गरेको उहाँको भनाइ छ । पछिल्लो समय भारतीय पर्यटकको रोजाइमा कालिञ्चोक क्षेत्र परेको छ ।

हिउँ नपरेपछि कृषि र पर्यटन क्षेत्रमा असर पुगेको भीमेश्वर ७ का मकैबारीका किसान मीरा सुवेदीले बताउनुभयो । यहाँका किसानका लागि हिउँ उपहार हो । हिउँदमा जमिनको सतह चिसो हुने र सो समय हिउँ पर्दा जमिनको भित्री तहसम्म चिसो पुग्ने भएकाले कृषकले लगाएको अन्नबाली सप्रिने उहाँले बताउनुभयो।

दोलखाको हिमाली क्षेत्रमा आलु रोप्ने सिजन भएको छ। तर हिमपात नभएपछि मुख्य आम्दानीकाे स्रोत आलुबाली रहेका किसानहरु चिन्तित भएका छन् ।

हिउँले गहुँ, जौ, आलु, बन्दा, काउली, सागलगायतका अन्नबाली सप्रिनुका साथै फलफूल तथा तरकारीबालीमा लाग्ने विभिन्न रोगको प्रकोप नियन्त्रण गर्छ । अब गर्मी बढ्ने बेला हुन थालेकोले अब हिउँ परे पनि फलफूल तथा अन्नबालीलाई खासै फाइदा नहुने स्थानीय कृषकको भनाइ छ ।

 

Back to top button