मेलुङका गाउँगाउँमा निशुल्क आँखा शिविर ,१ हजार जना लाभान्वित

चरिकोट। दोलखाको मेलुङ गाउँपालिकाले गाउँगाउँमा मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गराएको छ । गाउँपालिकामा रहेका ७ वटै वडाका मोतियाबिन्दुका बिरामीहरको आँखा परीक्षण अभियान सुरु गरी गाउँमा नै शल्यक्रिया गरिएको हो।
फागुन २० गतेदेखि गाउँपालिकामा रहेका ७ वटा वडाहरुमा भएको आँखा शिविरबाट मोतियाबिन्दुको समस्या भएका व्यक्तिको शल्यक्रिया गरिएको मेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले बताउनुभयो । ७ वटा वडामा १ हजार जनाले अाँखा परीक्षण गराउँदा ४७ जनाको आँखामा मोतियाबिन्दुको समस्या देखिएको उहाँले बताउनुभयो  ।
आँखाको उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै गाउँपालिका – ७ का मायानाथ जोगिले भन्नुभयो ‘अरुबेला आँखाको उपचार गर्नुपरे सदरमुकाम चरिकोट राजधानी काठमाडौँ जानुपथ्र्यो। तर शिविरमा आँखाको उपचार सित्तैमा पाइएको र खर्च पनि जोगिएकोमा खुसी लागेको उहाँले बताउनुभयो ।
सोही गाउँपालिका ४ भेड्पुका तिलक श्रेष्ठले लट्ठीको सहयोगमा हिँड्नु पर्ने बाध्यता रहेकोमा सो अवस्थाको अन्त्य हुँदा खुसिको सिमा नरहेको बताउनुभयो ।
‘आँखा नदेखेपछि के गर्नु, कति खेर कता लडिएला भन्ने त्रास रहेको उहाँको भनाइ छ ।  शरीरको सबै भन्दा ठूलो अंग भनेकै आँखा रहेछ’, उहाँले  आफ्नो अनुभव सुनाउनुभयो ।
 सोही शिविरमा ३ जनाको आँखामा पलाएको मासुको समेत शल्यक्रिया गरिएको थियो । आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. लिना बज्राचार्य, डा. मनिषा थापा, विप्लव खड्का, योगिता विक, कुमार राई, सावित्री ओली र काजीबहादुर दर्जीको टोलीले ३ दिनसम्म शल्यक्रिया गर्नुभएको थियो ।
 मेलुङ गाउँपालिकाको त्रिभुवन माविमा ३ दिनसम्म आयोजना गरिएको निःशुल्क आँखाको शल्यक्रिया गरिएका बिरामीहरु विशेषगरी खर्च गरेर सुविधा सम्पन्न आँखा अस्पतालमा जान नसक्ने खालका थिए । आँखा शल्यक्रिया शिविरको आयोजना मेलुङ गाउँपालिकाको, तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा र दोलखा लायन्स आँखा केन्द्र प्राविधिक सहयोगमा गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले बताउनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरबाट यति धेरै बिरामीको संख्यामा उपचार तथा शल्यक्रिया भएको यो पहिलोपटक भएको बताउदै अध्यक्ष तामाङले आगामी दिनमा पनि यस्तै खाले स्वास्थ्य शिविर आयोजना गरिने बताउनुभयो।
आर्थिक अभावका कारण अन्धकार भित्र रहनुभएका स्थानीयहरुको  निःशुल्क अपरेसन लगायत सबै व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ ।
आँखा शरीरको  महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उहाँको भनाई छ।
Back to top button