तामाकोशी नदिमा बेपत्ता भएकामध्ये एकको शव फेला

चरीकोट, वैशाख ८ गते । दोलखामा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ जनामध्य एक जनाको शव फेला परेको छ । शुक्रबार दिउँसो तामाकोशी नदीमा पौडी खेल्ने क्रममा जिल्लाको गौरीशंकर गाउँपालिका-८ खारेका दुई जना बेपत्ता भएका थिए ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका गौरीशंकर गाउँपालिका ८ खारेका अन्दाजी ३६ वर्षीय जयबहादुर तमाङको शव फेला परेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरिक्षक बिक्रम लामाले बताउनुभयो । बेपत्ता रहेका अर्का २५ वर्षीय सिम बहादुर तामाङका खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।

शुक्रबार दिउँसो ३ बजेतिर मलामी गएर फर्किने क्रममा २ जना तामाकोसी नदीतिर गएको र परिवार र स्थानीयहरुले बेलुकासम्म खोजी गर्दा पनि पत्ता नलागेपछि परिवारले बिहान प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । खबर पाउन साथ खोजी कार्यमा लागेको प्रहरीले सनिबार दिउँसो १२ बजेतरि पौडी खेल्न गएको भन्दा १२ सय मिटर तल एक जना शव फेला पारिएको लामाले बताउनुभयो ।

दुबै जना पौडी खेल्न खासै नजान्ने र सो ठाउँमा गहिरो पोखरी रहेको पाइएको प्रहरीले जनाएको छ ।

Back to top button