दूधमा आत्मनिर्भर बन्यो दोलखा: दुधन्जन्य सामाग्री काठमाडौ र इलाममा

चरीकोट, वैशाख १२ गते । दोलखा जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय गाई र भैँसीको व्यावसायिक पालन बढेपछि जिल्ला आत्मनिर्भर बनेको हो। दूधमा राम्रो आम्दानी र गाउँगाउँमै दूध सङ्कलन हुन थालेपछि गाइभैँसी पाल्ने स्थानीय बढ्दै गएका छन् ।  जिल्लाभित्र माग पुगेपछि पछिल्लो समय दूधजन्य सामग्री विभिन्न जिल्लामा निर्यात हुन थालेको छ ।

आर्थिक वर्ष ०७९/८० मा १२ हजार ३३४ केजी छुर्पी दोलखाबाट इलाम र काठमाडौं निर्यात भएको थियो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४० हजार केजीभन्दा बढी छुर्पी निर्यात गरिएको दोलखा दुग्ध उद्योग लिमिटेड दोलखाका लेखा प्रमुख प्रदिप सिवाकोटीले जानकारी दिनुभयो । आर्थिक वर्ष सकिन अझै तीन महिना बाँकी रहेकाले थप छुर्पी निर्यात हुने सिवाकोटीले बताउनुभयो ।

गत वर्ष काठमाडौंमा मात्र ६ हजार ८ सय केजी छुर्पी निर्यात गरिएको थियो । अहिले दोलखा दुग्ध उद्योगले दूधको परिकार उत्पादनमा बढी जोड दिएको छ। केही वर्षअघि दूध मात्र उपभोक्तालाई दिँदै आएकोमा अहिले दही, मोही, पनिर, पेडा, छुर्पी, घ्यू र मखन उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

उद्योगले किसानलाई गाई र भैंसीपालनमा जोड दिन आग्रह गर्दै आएको छ । दैनिक रुपमा डेरीमा दूध सङ्कलन गर्न सकेमा आर्थिक रुपमा सक्षम र आयआर्जनमा टेवा पुग्न सक्ने भएकाले किसानलाई यसतर्फ लाग्न बेला बेलामा अभिमुखी कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । दोलखा दुग्ध उद्योगमा हाल दैनिक चार हजार एक सय लिटर दूध सङ्कलन हुँदै आएको छ । दोलखाको आठ वटा पालिका र रामेछापको खिम्तीबाट दूध सङ्कलन गरिरहेको सिवाकोटीले जानकारी दिनुभयो । खिम्तीबाट दैनिक ६ सय लिटर दूध सङ्कलन हुँदै आएको छ ।

 

किसानले मूल्य पाएको र एउटै किसानले वर्षमा लाखाैं रुपियाँ कमाउने गरेको सिवाकोटीले बताउनुभयो। भीमेश्वर नगरपालिका ८ निवासी हरि फुयालले मासिक एक लाख ७९ हजार दुई सय दूधबाट भुक्तानी लिँदै आउनुभएको छ ।

उहाँले मासिक दुई हजार ५ सय ६० लिटर दोलखा दुग्ध उद्योगलाई दूध दिँदै आउनुभएको उद्योगले जनाएको छ । उद्योगले गाईको दूध ६० देखि ७५ रुपैयाँ प्रतिलिटर र भैँसीको ७५ देखि एक सय रुपियाँ प्रतिलिटर दिने गरेका छन् । ९ महिनाको अवधिमा ७ लाख २० हजार लिटर दूध सङ्कलन तथा बिक्री भएको दोलखा दुग्ध उद्योगले जनाएको छ । अहिले दोलखाबाट काठमाडौंमा बसोबास गर्दै आएका दोलखालीलाई दोलखा डेरीको स्वाद चखाउन काठमाडौंको मिनभवन नजिक दोलखा डेरी एण्ड एग्रो मार्ट सञ्चालनमा आएको छ । त्यही मार्टमा दोलखा डेरीले उत्पादन गरेका दूधका परिकार राखिएको दोलखा दुग्ध उद्योग सञ्चालक समितिले जनाएको छ ।

 

Back to top button