दोलखामा करिब ७ सय हेक्टर वन क्षेत्रमा डढेलो, डढेलो नियन्त्रणमा कार्यालयसँग छैन प्रभावकारी योजना

बैशाख २७ गते  । सुख्खा मौसम सुरु भएपछि दोलखाका जंगलमा हरेक वर्ष डढेलो लाग्छ । तर डढेलो कसले लगाउँछ भन्ने पहिचान हुन सक्दैन। दोलखाका सामुदायिक वनहरू डढेलोको जोखिममा पर्न थालेका छन्। विगत केही महिना देखि जिल्लाका विभिन्न सामुदायिक वनमा दैनिकजसो डढेलो लाग्दै आएको स्थानीयले बताएका छन्। सामुदायिक वनहरूमा डढेलो लागेका कारण संरक्षण गरेका वनजङ्गल नष्ट हुने र नजिक रहेका घरगोठमा आगलागी हुने डर रहेकाले स्थानीय त्रसित हुन थालेका छन्। दोलखामा आार्थिक वर्ष ०८०/ ०८१ बैशाख महिना सम्म करिब ७ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । वन कार्यालयको ३७ हजार ४० हेक्टर कार्यक्षेत्र पर्दछ । वन कार्यालयको भन्दा ठुलो क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रले ओगटेको छ ।
डिभिजन वन कार्यालय दोलखा अन्तर्गत १ सय ७१ स्थानमा गरेर ६ सय ८३ हेक्टर वन क्षेत्रमा डढेलो लागेको कार्यालयले जनाएको छ । कार्यालया ६ वटा सब डिभिजन वन कार्यालयहरु रहेका छन । भिमेश्वर सव डिभिजन कार्यालय अन्तर्गत १०५ हेक्टर, कालिन्चोक सव डिभिजन अन्तर्गत २२० हेक्टर तामाकोसी सव डिभिजन अन्तर्गत १५० हेक्टर,हनुमन्ते सव डिभिजन अन्तर्गत ८५ हेक्टर , मेलुङ सव डिभिजन अन्तर्गत ४४ हेक्टर र शैलुङ सव डिभिजन अन्तर्गत ८० हेक्टर गरेर करिब ७ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय प्रमुख वन अधिकृत कृष्णराज न्यौपानेले बताउनुभयो ।
बैशाख ४ गतेसम्म ७४ स्थानमा लागेको डढेलो बैशाख २४ गतेसम्म ९६ स्थानमा डढेलो लागेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।
ठुलो क्षेत्रमा डढेलो लाग्दा पनि सम्बन्धित कार्यालयको तयारी चुस्त रहेको छैन । दोलखाको भिमेश्वर नगरपालिकामा मात्र दमकल रहेको छ । आगलागी नियन्त्रण गर्नका लागी जिल्ला वन कार्यालय दोलखाले १० जना अग्नि नियन्त्रक नियुत्ति गरेको छ । वन कार्यालयले चेतनामुलक कार्यक्रम भन्दै छलफल र सामान्य प्रचारप्रसार भन्दा अरु प्रभावकारी कार्यक्रम कुनै पनि गर्न सकेको छैन । १ सय ७९ स्थानमा डढेलो लागेको दोलखामा हालसम्म एक जना मात्र डढेलो लगाउने व्यत्ति पक्राउ परेका छन । पक्राउ परेका भिमेश्वर नगरपालिका ७ मकैबारीका श्याम तामाङलाइ अदालतमा मुदा दर्ता गरेको थियो । तामाङ केहिदिन अघि पुर्पक्ष कारागार चलान भएका छन । करिब २ सय आगलागीका घटना भएका दोलखामा हालसम्म आगो लगाउने पक्राउ परेका उहाँ मात्र हुनुहुन्छ । आगोलागी घटनामा आगो लगाउने हरु पत्ता लगाउन तर्फ कार्यालयको खासै ध्यान पुगेको देखिदैन ।

आगलागीका कारण जङ्गलमा भएका काठदाउरा, बोटबिरुवासँगै पशुपन्छीको बासस्थानमा समेत क्षति पुगेको छ।
मानवीय लापरबाहीले गर्दा दोलखामा बर्सेनि सयौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको न्यौपानेले बताउनुभयो । जङ्गलमा आगलागी गराउनुहुन्न भन्ने ज्ञान स्थानीयहरुलाई भएतापनि तर जङ्गल सफा गराउने, राम्रो घाँस पलाउने लगायत विभिन्न कारणले डढेलो लगाउने गरेको पाईएको उहाँले बताउनुभयो ।
जङ्गलमा सुकेका पातपतिङ्गर डढेलोले सल्किएपछि नयाँ घाँस पलाउने लोभमा पनि कतिपय ठाउँमा गाईगोठालाले लुकेर आगो लगाउने गरेको पाइन्छ। आगोले वनजङ्गलमा डढेलोको रूप लिँदा वन, वनस्पति, वन्यजन्तुमा ठूलो नोक्सानी हुने गरेको छ।

Back to top button