फस्कुमा निशुल्क स्वास्थ्य शिविर, १ सय ६० जना लाभान्वित

चरिकोट । दोलखाको शैलुङ गाउँपालिका–७ फस्कुमा निशुल्क स्वास्थ्य शिविर समपन्न भएको । वडा कार्यालयको आयोजना र लालीगुरास सामुदायिक अस्पतालको सहकार्यमा सम्पन्न भएको शिविरमा सो वडा र आसपासका १ सय ६० जना लाभान्वित भएका हुन ।
एक दिने शिविरमा निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क भिडियो एक्स–रे, मुटुको इसिजी, मुटु मिर्गौलाको चेकजाँच, स्त्री रोग,पाठेघरको मुखको क्यान्सर,तथा हात खुट्टा पोल्ने र झमझमाउने लगाएको परीक्षण तथा चेकजाँच गरिएको थियो ।
आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट आफ्नो वडाका नागरिक बन्चित नहुन भन्ने उदेश्यका साथ शिविर आयोजना गरिएको सोही वडाका वडा अध्यक्ष सुजन खड्काले बताउनुभयो । शिविरमा स्वास्थ्य परीक्षण गर्दा विभिन्न रोग देखा परेका बिरामीहरुलाई औषधि समेत वितरण गरिएको उहाँले बताउनुभयो।
गाउँमै औषधी सहितको स्वास्थ सेवा पाउदाँ स्थानीयहरु खुसी भएका छन ।
शिविरलाई लालीगुराँस सामुदायिक अस्पतालका डा. सुरेन्द्र तामाङ र विवेक सापकोटा लगायतका स्वास्थ्यकर्मीले सहजीकरण गर्नुभएको थियो । शिविरमा ५० जनाको भिडियो एक्स–रे, ५४ जनाको इसिजी र अन्यलाई सामान्य चेकजाँच गरिएको खड्काले बताउनुभयो।
ग्रामिण भेगका अधिकाशं महिला तथा पुरुषले विभिन्न कारणले रोगहरु लुकाउने र सोही लुकाएका रोगहरु फैलिएर क्यान्सर जस्ता घातक रोग सम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै संचालित शिविरबाट धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभावकारी रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।स्वास्थ्य उपचारका लागी राजधानी काठमाडौ लगायत जिल्ला बाहिर जानुपर्दा धेरै खर्च लाग्ने भएकाले गाउँमै सेवा पाउदा खुसी लागेको स्थानीयहरुले बताएका छन ।

Back to top button