दुर्घटना न्यूनीककरण गर्न ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन

चरीकोट, जेठ ५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानका विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लामा सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताउनुभयो ।सो कार्यक्रमअन्तर्गत तामाकोशी गाउँपालिकाका २ वटा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो । तामाकोसी गाउँपालिका ३ मा रहेको सीतापाइला माध्यमिक विद्यालय र सोही गाउँपालिका ४ मा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई  ट्राफिक सचेतना प्रशिक्षण दिइएको भट्टराईले बताउनुभयो ।

स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको उहाँको भनाइ छ । मुख्य गरी सहरी क्षेत्रका विद्यालयका विद्यार्थिहरुले व्यस्त सडक र राजमार्ग पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा गरिएको छ ।

विद्यार्थीहरुलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न जिज्ञासा र प्रश्नहरु सोधेको उहाँले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गनुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपनै जस्ता चेतनामुलक विषयको प्रशिक्षण दिइएको र विद्यालयमा सिकेका कुराहरु परिवार र समुदायमा पनि सचेतना गराउन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

सहर क्षेत्र ट्राफिक कारबाही गर्नेभन्दा पनि ग्रामीण समुदायमा नै पुगेर सचेतना गराउने कार्यक्रमलाई तीव्रता पारिएको र आगामी दिनमा अरु विद्यालयमा पुगेर कार्यक्रम ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

Back to top button