चरिकोटमा निशुल्क स्वास्थ्य शिविर, १२ सय जना लाभान्वित

चरीकोट, जेठ ९ गते । दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित पशुपति चौलागाई स्मृति अस्पतालमा हाड जोर्नी तथा नसासम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय ९५ जना लाभान्वित भएका हुन् ।

शिवीरमा ३९ जनाको शल्यक्रिया गरिएको पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटका प्रमुख ज्ञानेश्वर श्रेष्ठले बताउनुभयो । भीमेश्वर नगरपालिका दोलखाको सहयोग तथा पशुपति चौलागाई स्मृति अस्पतालको आयोजना र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको समन्वयमा विशेषज्ञ डाक्टरहरुद्वारा हाड जोर्नी तथा नसा रोगसम्बन्धी बिरामीको परीक्षण तथा उपचार गरिएको अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण प्रधानले बताउनुभयो ।

शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात या खुट्टाका विकृतिजन्य समस्याहरु, हात या खुट्टा भाँचिएका या भाँच्चिइ बाङ्गिएर जोडिएका, भाँच्चिएकोमा पाता वा किला राखिएका छन् र त्यसलाई निकाल्ने, हातमा आगोले पोलेको र हात खुट्टामा भएका गाठागुठीहरु निकाल्ने लगायतका निःशुल्क उपचार गरिएको थियो ।

शिविरमा ओपिडी, परामर्श, शल्यक्रिया, एक्सरे र निःशुल्क औषधी वितरण गरिएको अध्यक्ष प्रधानले बताउनुभयो । स्वास्थ्य शिविरमा नेपाल अर्थोपेडिक अस्पतालबाट आएका डा. संयुक्ता आचार्य, डा. रचित शर्मा, डा. अनिश ज्ञवाली, डा. सुमित लोहिअ, डा. रामशङ्कर गुप्त, विजेन्द्र डङ्गोल, सुमन बिसी, लुना भट्टराई, बबिता कार्की, अरुना महर्जन, स्मृति अधिकारी, बिना उपाध्याय, सङ्गीता ठकुरी, बाबुराम खत्री र लोकनाथ बडाललगायतका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो

Back to top button