बागमती प्रदेशको गौरव योजना जिरी ताल निर्माण अन्योलमा

दोलखा । बागमती प्रदेश सरकारको गौरवको आयोजना मानवनिर्मित जिरी तालको निर्माण योजना अन्योलमा परेको छ  । दुई वर्षअघि प्रदेशको गौरवको आयोजनाका रूपमा ताल निर्माण गर्ने भनिए पनि अहिले ताल निर्माणको काम अन्योलमा परेको हो  ।

डिभिजन सिँचाइ कार्यालय दोलखाले ताल निर्माणका लाागि जग्गाको लगत सङ्कलन गर्ने काम गत वर्ष नै सम्पन गरेको थियो । नापी कार्यालय तथा मालपोत कार्यालय दोलखाबाट आयोजनाको क्षेत्रभित्र पर्ने जग्गाको लगत लिई अध्ययन गर्दा ताल निर्माणका लागि करिब सात सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको थियो ।

सो कार्यालयले कार्यसूची तथा क्षेत्र निर्धारण प्रतिवेदन बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पठाएको थियो । मन्त्रालयले बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय पठाएको र वन मन्त्रालयले प्रतिवेदनको आवश्यक परिमार्जन गरी पुनः पेस गर्न डिभिजन सिँचाइ कार्यालय दोलखामार्फत परामर्शदातालाई अनुरोध गरिएकामा परामर्शदाता कम्पनीले परिमार्जन गरी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पठाइसकेको सिँचाइ डिभिजन कार्यालय दोलखाका प्रमुख रुपेश महतले बताउनुभयो ।

ताल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको प्रयोजनका लागि लगत सङ्कलन गर्ने कार्य सम्पन गरेर मुख्यमन्त्री कार्यालयमार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो सिँचाइ मन्त्रालयले मन्त्रीपरिषदमा पेस गर्ने र मन्त्रीपरिषदले पास गरेपछि वातावरणीय अध्ययन प्रतिवेदनको काम अगाडि बढ्ने उहाँको भनाइ छ ।

एक किलोमिटर लामो तथा दुई सय मिटर चौडाइको हुने सो ताल निर्माणका लागि डुबान हुने क्षेत्रभित्र पर्ने १५१ कित्ता तथा ताल वरिपरि आवश्यक पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि ३३९ कित्ता अधिग्रहण गर्नुपर्ने कार्यालयले जनाएको छ ।

यो ताल निकै आकर्षक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुने कार्यालयले जनाएको छ । डिपिआर अनुसार ताल निर्माण लागत तीन अर्ब १७ करोड रुपियाँ रहेको छ । सगरमाथाको द्वार तथा नेपालको स्विट्जरल्यान्ड नामले चर्चित दोलखाको पर्यटकीय नगर जिरी अहिले सुस्ताएकाले पुरानै लयमा फर्काउन जिरी तालले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जिरी ताल निर्माणका लागि जिरी नगरवासी सहयोग गर्न तयार रहेको तथा ताल निर्माणको काम छिटोभन्दा छिटो सुरु होस् भन्ने स्थानीयहरुको अपेक्ष रहेको छ  । जिरीवासीले केहि समय पहिले सामाजिक सञ्जालमार्फत ताल निर्माणको काम अगाडि बढाउन खबरदारी गरेका थिए ।

जिरी ताल निर्माण र खस्किएको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन खबरदारीस्वरूप स्थानीयहरुले जिरी नगरपालिकाका पूर्वप्रमुख, दोलखाबाट निर्वाचित प्रदेश सभा सदस्य र सङ्घीय सांसदलाई जिरी ताल कहिले बन्छ भनेर म्यासेज गरेर खबरदारी गरेका थिए ।

जिरी कृत्रिम ताल निर्माण सुरु गर्न बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरेको थियो । निर्माणको काम अगाडि बढ्न नसकेपछि सो रकम फ्रिज भएको थियो । चालु आवमा प्रदेश सरकारले तीन करोड रुपियाँ विनियोजन गरिएतापनि कुनै काम अगाडि बढ्न सकेको छैन । आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पनि काम सुरु नभएकाले बजेट फ्रिज जाने सम्भावना रहेको सिँचाइ डिभिजन कार्यालय दोलखाका लेखा शाखा प्रमुख छत्र कटुवालले बताउनुभयो ।

जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले जिरी ताल निमार्णका लागि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । नगरपालिकाले बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय हुदै उर्जा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पुगरे जिरी तालको काम अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको गौरब र जिल्लाको आकर्षक पर्यटकिय गन्तब्य जिरीमा ताल निमार्ण गर्न नगरपालिका जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । सबै काम सकेर जग्गा प्राप्तिको लागी सङ्घी सरकारमा पुगिसकेको तर सङ्घी सरकारमा पुगेर ताल निमार्णको प्रक्रिया रोकिएको प्रमुख जिरेलले बताउनुभयो । जिरीको मुहार फेर्ने कुरा जिरी ताल निमार्णको प्रक्रिया अगाडि बढाउन नगरले सङ्घी र प्रदेश सांसदहरुलाई हाग्रह गरिएको र नगरले पनि पहल गरिरहेको उहाँले बताउनुभयो ।

Back to top button