दोलखामा स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित दुई जना पक्राउ
चरिकोट । दोलखामा स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको भिमेश्वर नगरपालिका – ७ मकैबारीबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित दुई जनालाई पक्राउ गरेको हो।
सदरमुकाम चरिकोटको सातदोबाटो चोकबाट करिब ५ किलोमिटर पश्चिम सडक आसपासको क्षेत्रमा शंकास्पद रूपमा झोला बोकी हिँडिरहेको अवस्थामा उनीहरूलाई फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा लमजुङको सुन्दरबजार नगरपालिका-२ स्थायी घर भई हाल ललितपुर बस्ने ३८ वर्षीय रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका-७ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय शेर बहादुर राउत रहेका छन्। प्रहरीले उनीहरूको खानतलासी गर्दा झोलाभित्र लुकाइराखेको अवस्थामा १९ लाख ९२ हजार ५ सय रुपैयाँ बरामद गरेको छ।
उक्त रकमको स्रोत र प्राप्तिको सम्बन्धमा सोधपुछ गर्दा निजहरूले स्पष्ट खुलाउन नसकेपछि प्रहरीले दुवै जनालाई रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले बताउनुभयो ।
पक्राउ परेका दुवैमाथि मुलुकी फौजदारी संहिता, २०७४ अन्तर्गत “हुण्डी सम्बन्धी कारोबार गर्न नहुने” कसूरमा जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस