रास्वपाको बन्दसूचीबाट हट्न चाहनेलाई आयोगले भन्यो- फेसबुकमा भनेर हुँदैन, आफैं आउनू

सुनौलो अनलाइन
१९ पुष २०८२, शनिबार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा समावेश नामहरूलाई लिएर विवाद र सार्वजनिक आलोचना बढेपछि सूचीमा परेका चर्चित अनुहारहरूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले पेस गरेको बन्दसूचीमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको नाम समावेश भएपछि जेन-जी अभियानकर्मी, नागरिक अधिकारकर्मी र राजनीतिक विश्लेषकहरूले प्रश्न उठाएका थिए।

चौतर्फी आलोचना र दबाब बढ्दै गएपछि कलाकार आशिफ शाह, चर्चित गायिका त्रिशाला गुरुङ, उद्यमी सचिन ढकाल, महेन्द्र लावती र टासी ल्हाक्पा शेर्पाले उम्मेदवारीबाट हट्ने निर्णय लिएका हुन्।

यद्यपि, उम्मेदवारहरूले फिर्ता लिने निर्णय गरे पनि निर्वाचन आयोगले भने प्रक्रियागत रूपमा कानुनी मापदण्ड पूरा गर्नुपर्ने स्पष्ट पारेको छ।

राजनीतिक दलहरूले एकपटक समानुपातिक बन्दसूची आयोगमा बुझाइसकेपछि दलकै तर्फबाट मात्र सूची संशोधन गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण सम्बन्धित व्यक्तिहरू स्वयं उपस्थित हुनुपर्ने बाध्यात्मक अवस्था रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले समानुपातिक सूचीमा परेका व्यक्तिहरूले आफैंले निवेदन दिएमा मात्रै बन्दसूचीबाट हट्न सक्ने व्यवस्था रहेको प्रष्ट पारेको छ।


धेरै पढिएको