फेसबुकको ‘स्टन्ट’ ले कांग्रेस बन्दैन, ४८ सालको शेरबहादुर बनेर देखाउ : पुर्व सभापति खड्का
काठमाडौ । नेपाली कांग्रेसका दोलखाका पूर्व सभापति रुद्र बहादुर खड्काले हालैका राजनीतिक घटनाक्रम र पार्टीभित्र बढ्दो गुटबन्दीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै युवा नेतृत्वलाई इतिहासबाट सिक्नु पर्ने बताउनुभएको छ। भाद्र २३ र २४ गतेको प्रदर्शन, आगजनी र लुटपाटपछि सिर्जित असहज परिस्थितिको फाइदा उठाउँदै पार्टीलाई चौतर्फी आक्रमण भइरहेको बेला आन्तरिक रूपमै विभाजनको खेती गरिनु दुर्भाग्यपूर्ण रहेको उहाँको ठहर छ। निर्वाचनको मुखमा व्यक्तिगत स्वार्थका लागि पार्टीका साथीहरूलाई विभाजित गर्ने र नेतृत्वलाई खुइल्याउने खेलले संगठनलाई गम्भीर क्षति पुर्याएको विश्लेषण गर्दै उहाँले यस्ता कार्यको मूल्यांकन इतिहासले गर्ने बताउनुभएको छ।
संकटमा स्वार्थको राजनीति र विभाजन
पार्टीभित्र सिर्जित वर्तमान परिस्थितिलाई नियाल्दै खड्काले निर्वाचनको संघारमा पद र प्रतिष्ठाका लागि जे जस्ता कसरतहरू भएका छन्, ती सबै आवश्यक नभएको टिप्पणी गर्नुभएको छ। स्वार्थरहित ढंगले काम गरिएको भए आसन्न निर्वाचनमा सफलता सुनिश्चित हुने भए पनि निहित स्वार्थका लागि गरिएका गुटगत क्रियाकलापले नतिजालाई शंकाको घेरामा राखेको उहाँको बुझाइ छ। पार्टीलाई झन्डै ८० वर्षसम्म डोहोर्याएर ल्याउने पुराना नेताहरूको योगदानलाई अवमूल्यन गरेर मात्रै आफ्नो उचाइ बढाउन सकिन्छ भन्ने सोचलाई उहाँले दिवा सपनाको संज्ञा दिनुभएको छ।
युवा पुस्ता र पपुलिजमको चुनौती
खड्काले पछिल्लो समय Gen-Z र युवा पुस्ताको कलिलो दिमागलाई क्षणिक स्वार्थमा उपयोग गर्ने प्रवृत्तिको कडा आलोचना गर्नुभएको छ। नेपालका कम्युनिष्टहरू र पछिल्लो समय रवि लामिछाने तथा बालेन शाह जस्ता पात्रहरूले यही बाटो पछ्याएको सन्दर्भ उल्लेख गर्दै कांग्रेसका केही युवा नेताहरूले पनि त्यही शैलीको पुनरावृत्ति गर्न खोजेकोमा उहाँले सचेत गराउनुभएको छ। नेतृत्वमा पुगेका युवाहरूले सस्तो लोकप्रियता भन्दा पनि जिम्मेवारीको गहिराइलाई बुझ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
देउवाको इतिहास र वर्तमान नेतृत्वलाई चुनौती
वर्तमान युवा नेतृत्वलाई उहाँले २०४८ सालको संसदीय निर्वाचन र शेरबहादुर देउवाको सफलताको इतिहास स्मरण गराउनुभएको छ। तत्कालीन समयमा ४८ वर्षकै उमेरमा रहनुभएका देउवाले पश्चिम नेपालका १९ मध्ये १८ क्षेत्रमा कांग्रेसलाई विजयी गराएर गृह मन्त्री बन्दै जुन राजनीतिक उचाइ प्राप्त गर्नुभएको थियो, अहिलेका युवा नेताहरूले पनि त्यस्तै नतिजा ल्याएर देखाउनुपर्ने खड्काको तर्क छ। अहिलेका उमेर पुगेका नेताहरूलाई चुनौती दिने आँट र क्षमता राख्ने युवाहरूले चुनावी मैदानमा आफ्नो लोकप्रियतालाई भोटमा बदलेर प्रमाणित गर्नुपर्ने चुनौती उहाँले दिनुभएको छ।
एकल सरकारको लक्ष्य र आगामी बाटो
सातवटै प्रदेशमा बहुमतसहित एकल सरकार बनाउनु पर्ने गहन दायित्व अहिलेको युवा नेतृत्वको काँधमा रहेको खड्काले प्रस्ट पार्नुभएको छ। यदि उनीहरूले हिजोका दिनमा शेरबहादुर देउवाले झैँ परिणाममुखी नतिजा हासिल गर्न सकेमा मात्रै उनीहरूको सक्रियता र “रोइलो” ले सार्थकता पाउने उहाँको दाबी छ। कांग्रेस र जनताले त्यतिबेला मात्र स्याबासी दिनेछन् जब युवा नेताहरूले आफ्नो क्षमतालाई चुनावी नतिजा मार्फत एकल सरकार गठनमा रूपान्तरण गर्नेछन्।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस