सुर्खेतबाट सुरु भयो काफ्लेको पश्चिम अभियान : ‘रुख र चार तारा’को रक्षाका लागि मैदानमा
सुर्खेत, माघ ११ गते । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले पार्टीभित्रका आन्तरिक मनमुटाव र विगतका तित्ततालाई बिर्सेर आगामी निर्वाचनमा पार्टीलाई जिताउन एकजुट हुन आह्वान गर्नुभएको छ।
’हामी कांग्रेसी एक छौँ’ भन्ने बलियो सन्देश प्रवाह गर्ने लक्ष्यसहित पश्चिम नेपालको साङ्गठनिक यात्रामा निस्कनुभएका नेता काफ्लेले आइतबार सुर्खेतमा कार्यकर्ताहरूसँग भेटघाट गर्दै यस्तो बताउनुभएको हो। रुख चिन्ह र चार तारा झण्डामुनि सबै लोकतन्त्रवादीहरू गोलबन्द हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
विगत बिर्सौँ, भविष्य निर्माण गरौँ
सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता काफ्लेले भन्नुभयो, “हिजो के भयो, त्यो कुरा छोडिदिनुहोस्। आज हामीले के गर्ने र भोलिको कांग्रेसलाई अझ जिम्मेवार र शक्तिशाली कसरी बनाउने भन्ने नै हाम्रो मुख्य जिम्मेवारी हो।” उहाँले चुनावी मैदानमा रहेका पार्टीका उम्मेदवारहरूलाई उच्च मनोबलका साथ साथ, सपोर्ट र हौसला दिन सबै तहका नेता-कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। निर्वाचनमा जित निकाल्न आन्तरिक एकता नै पहिलो सर्त भएको उहाँको भनाइ थियो।
पश्चिम नेपाल यात्रा जारी
सुर्खेतका कांग्रेसजनहरूसँगको भेटघाट र उत्साहजनक सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै काफ्लेले आफ्नो पश्चिम नेपालको यात्रा जारी रहने जानकारी दिनुभयो। पार्टीभित्र एकताको ऊर्जा भर्न र चुनावी माहोललाई ‘कांग्रेसमय’ बनाउन यो यात्रा फलदायी हुने विश्वास लिइएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले अपिल गर्नुभएको छ– “आउनुस्, सबै डेमोक्रेटहरू लाम लागौँ र कांग्रेसलाई सशक्त बनाऔँ।”
पार्टीभित्रको गुटबन्दी र असन्तुष्टि चिर्दै स्थानीय स्तरसम्म पुग्ने काफ्लेको यो अभियानलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सुर्खेतपछि उहाँको यात्रा पश्चिमका अन्य जिल्लातर्फ अघि बढ्नेछ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस