दोलखामा बिदाको बेथिति: नियम मिच्दै सडकमा जनप्रतिनिधि र कर्मचारीका सवारी
चरीकोट । सरकारले इन्धन बचत र प्रशासनिक खर्च कटौतीका लागि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि दोलखामा यसको कार्यान्वयन पक्ष निकै फितलो देखिएको छ।
सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य भए पनि दोलखामा जनप्रतिनिधि र कार्यालय प्रमुखहरूहरु सहितका कर्मचारी निर्वाध सवारीसाधन चलाईरहेका छन।
जनप्रतिनिधि र प्रमुखहरुकै मनपरी
बिदामा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र सरकारी कार्यालयका प्रमुखहरूले चढ्ने गाडीहरू निर्बाध रूपमा सडकमा गुडिरहेका देखिन्छन्।
व्यक्तिगत काम, पारिवारिक भ्रमण र किनमेलका लागि सरकारी गाडीको प्रयोग बढ्दो छ। “नियम सिकाउने र कार्यान्वयन गराउने ठाउँमा बसेका जिम्मेवार व्यक्तिहरू नै विना पास सडकमा निस्किएपछि अरूलाई कसले कारबाही गर्ने?” स्थानीय एक नागरिकले आक्रोश व्यक्त गरे।
न अनुगमन, न कारबाही
नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गर्नुपर्ने प्रावधान भए पनि दोलखामा सरकारी गाडीलाई कसैले रोक्ने हिम्मत गरेका छैनन्।
चरीकोटको सातदोबाटो, जिरी, सिगटी, मैनापोखरी अन्य मुख्य सडक खण्डहरू र पर्यटकीय स्थलहरुमा सेतो नम्बर प्लेटका गाडिहरु निर्वाध आवतजावत गरिरहँदा पनि अनुगमनका लागि सम्बन्धित निकायले चासो देेेखाएको छैन।
खर्च कटौतीको लक्ष्य नै धरापमा
बढ्दो आर्थिक संकट र महँगो इन्धनको खपत घटाउन राज्यले बिदाको नीति ल्याएको हो। तर, दोलखामा भने बिदाको दिन झन् बढी सवारी साधन प्रयोग हुने गरेको देखिन्छ। यसले गर्दा राज्यको कोषबाट इन्धन र मर्मत सम्भारमा हुने खर्च घट्नुको साटो उल्टै दुरुपयोग भइरहेको पाइएको छ।
स्थानीयको आक्रोश
जनताले कर तिरेको रकमबाट गुड्ने सरकारी गाडीहरू सार्वजनिक बिदाको दिनमा व्यक्तिगत विलासिताका लागि प्रयोग हुनु गम्भीर आर्थिक अपराध भएको जानकारहरू बताउँछन्।
प्रशासनले तत्कालै कडाइका साथ अनुगमन गरी नियम विपरीत चल्ने जनप्रतिनिधि र कार्यालय प्रमुखका गाडीहरूलाई कारबाहीको दायरामा नल्याए यो बेथिति झन् मौलाउने सरोकारवालाले बताएका छन।
फोटो : सरकारी साधनको दुरुपयोगको सिम्बोलिक तस्वीर

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस