चरिकोटमा एपेक्स स्कूलको नौलो प्रयास: विद्यालय स्तरमै पहिलो पटक ‘पोटरी सेसन’

सुनौलो अनलाइन
१३ साउन २०८३, बुधबार

चरिकोट, दोलखा।
चरिकोटस्थित एपेक्स स्कूलले विद्यार्थीहरूको व्यावहारिक, सामाजिक र मनोवैज्ञानिक विकासलाई लक्षित गर्दै विशेष ‘पोटरी सेसन’ (माटो कला कार्यशाला) को आयोजना गरेको छ।

चरिकोट र समग्र दोलखा जिल्लामै विद्यालय स्तरमा यस किसिमको माटो कला सम्बन्धी कार्यक्रम आयोजना गरिएको यो पहिलो पटक हो ।

​’लर्निङ बाई डुइङ’ (गरेर सिक्ने) सिद्धान्तलाई आत्मसात् गर्दै आएको विद्यालयले बालबालिकाहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी माटोसँग खेल्दै नयाँ आकृति र सामग्री निर्माण गर्ने अवसर प्रदान गरेको हो।

आत्मविश्वास अभिवृद्धिमा फलदायी
​यस पोटरी सेसनको मुख्य उद्देश्य पढाइमा कम रुचि राख्ने तथा आत्मविश्वासको कमी भएका विद्यार्थीहरूमा सकारात्मक भावना र सिर्जनशीलताको विकास गराउनु रहेको विद्यालयले जनाएको छ।

आफ्नै हातले काँचो माटोलाई विभिन्न आकार दिएर सामग्री निर्माण गर्दा बालबालिकामा “मैले पनि केही बनाउन सक्छु” भन्ने बलियो आत्मविश्वास (Self-confidence) जाग्ने मनोवैज्ञानिक आधारलाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गरिएको हो।

बाल-मनोविज्ञान र सामाजिक शिक्षाको संयोजन
​’काँचो माटो जस्तै हुन् बालबालिका, जसलाई जस्तो आकार दियो त्यस्तै बन्छन्’ भन्ने मान्यतालाई आत्मसात् गर्दै कार्यक्रमले विद्यार्थीमा रचनात्मक सोचको विकास गराएको छ।

यसका साथै, सामाजिक शिक्षा (Social Studies) अन्तर्गत पाठ्यक्रममा रहेको ‘माटो र माटोका सामग्रीहरू’ सम्बन्धी विषयवस्तुलाई व्यावहारिक रूपमा जोडिएको छ। विद्यार्थीहरूले कक्षाकोठामा पढेका कुरालाई प्रत्यक्ष रूपमा माटोको ह्विल (Wheel) घुमाएर र भाँडाकुँडा बनाएर सिक्ने मौका पाएका छन्।

रमाइलो वातावरणमा व्यावहारिक सिकाई
​अत्यन्तै उत्साहजनक र मनोरञ्जनात्मक वातावरणमा सञ्चालन भएको उक्त सेसनमा विद्यार्थीहरूको सहभागिता बाक्लो र उत्साहजनक थियो। माटोसँग खेल्दै र भाँडा बनाउँदै गर्दा उनीहरूले धैर्यता र निरन्तर प्रयासको महत्त्वसमेत सिकेका छन्।

विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि विद्यार्थीहरूको चौतर्फी विकास र व्यावहारिक ज्ञानका लागि यस्ता नवीन तथा सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।