बाढी प्रभावितका लागि जिरी नगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा पौने १८ लाख सहयोग

सुनौलो अनलाइन
२४ भदौ २०८३, बुधबार

चरिकोट, दोलखा । जिरी नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १७ लाख ८५ हजार (१७,८५,०००/-) सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

नगर प्रमुख मित्र बहादुर जिरेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यही भाद्र २३ गते बसेको कार्यपालिका बैठकले उक्त रकम सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।

साथै, उक्त बाढीका कारण जिरी नगरपालिकामा स्थायी बसोबास भई हाल बेपत्ता रहेका व्यक्तिका परिवारहरूलाई तत्काल राहत स्वरूप प्रतिपरिवार रु ५०,००० (पचास हजार) उपलब्ध गराउने निर्णयसमेत नगरपालिकाले गरेको छ।

गत भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

विज्ञप्तिमा बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामनासमेत गरिएको छ।


धेरै पढिएको