ती तिहारहरू अब फर्केर आउलान् र ?
समय फेरिएको छ, जीवनशैली फेरिएको छ र चाडपर्व मनाउने तरिका पनि फेरिएको छ। तर प्रविधिको विकास र व्यस्ततासँगै हराउँदै गएको बालपनको तिहार, गाउँको त्यो मौलिक आत्मीयता र गाउँघरको रौनकप्रति चिन्ता व्यक्त गर्दै दोलखाका बाबुराम कार्कीले एउटा भावुक लेखमार्फत पुराना दिनहरूको स्मरण गरेका छन्।
तामाकोसी गाउँपालिका–२, झुले निवासी कार्कीले आफ्नो लेखमा बालपनका तिहारहरू, दाजुभाइबीच पिङ खेल्ने चटारो, ढोकामा सजाउन मखमली र सयपत्री फूलका माला उन्ने दिदीबहिनीहरू, लालटिन तथा पेट्रोम्याक्सको उज्यालोमा गुञ्जिने मादल र मुरलीका भाकाहरूलाई जीवन्त रूपमा उतारेका छन्।
काग तिहारदेखि सुरु भएर भाइटीकाको रातसम्म गाउँभरि फैलिने देउसी–भैलोका मिठा स्मृतिहरू साट्दै उनले आज ती सबै कुराहरूप्रति मीठो व्यङ्ग्य र अभाव महसुस गरेका छन्। आज घरहरूमा बत्ती बल्छन्, फूलमाला पनि लाग्छन् र गीतहरू पनि बज्छन्, तर पहिलेको जस्तो त्यो सामूहिक जमघट, आत्मीयता र खुला मनको उमङ्ग भने आधुनिकता र वैदेशिक रोजगारको चपेटामा हराउँदै गएको उनको ठम्याइ छ।
बजारका तयारी माला, मोबाइलका स्क्रिनमा साटिने शुभकामना र रेकर्डेड गीतले पुराना दिनको रिक्तता पूरा गर्न नसक्ने उल्लेख गर्दै कार्कीले प्रश्न गरेका छन्, “के साँच्चै त्यस्ता तिहारहरू फेरि फर्केर आउलान्?”
यद्यपि, पुराना दिनहरू हुबहु फर्केर नआए पनि त्यसले दिएको आत्मीयता, माया र सम्बन्धहरूलाई भने हामीले अझै पनि बचाउन सक्ने उनको निष्कर्ष छ। तिहारको वास्तविक उज्यालो बिजुलीका कृत्रिम बत्तीमा नभई एकअर्काको मनमा बल्ने माया र अपनत्वमा हुने भन्दै उनले चाडपर्वलाई औपचारिकतामा मात्र सीमित नराखी भेटघाट र सम्बन्ध जोड्ने माध्यम बनाउन सबैमा आग्रह गरेका छन्।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस