चलचित्र ‘२ नम्बरी’को छायांकन चैतबाट सुरु

काठमाडौं । कोरोना कहरपछि लगाइएको बन्दाबन्दीका कारण छायांकन रोकिएको चलचित्र ‘२ नम्बरी’ चैतबाट छायांकनमा जाने भएको छ । दीपेन्द्र लामाले निर्देशन गरिरहेको यस चलचित्रमा अभिनेता दयाहाङ राई, पल शाह, अभिनेत्री वर्षा राउतका साथमा भुटानी अभिनेत्री उगेन छोदनको प्रमुख भूमिका छ ।

चैतबाट छायांकनमा जाने यो चलचित्रको निर्माताको रुपमा गण्डकी प्रदेश सांसद दीपक मनाङे जोडिएका छन् ।

यसअघि दीपकले ‘पोई पर्यो काले’ मा पनि लगानी गरेका थिए । चलचित्रमा अब दीपक मनाङेको पनि लगानी रहने प्रस्तुतकर्ता किरण नेपालीले बताए । उनले कोरोना कहरपछि रोकिएको चलचित्रको बाँकी छायांकन १५ चैतबाट सुरु गरिने जानकारी दिए ।

चलचित्रमा दुई जना मिल्ने साथीको कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ । रेड वर्ड प्रोडक्सन र आरआरआर चलचित्र प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली यो चलचित्रमा निर्माताको रुपमा छन् ।

चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । चलचित्रको बाँकी छायांकन घान्द्रुकबाट सुरु हुने जनाइएको छ ।

यसअघि निर्माण पक्षले प्रदर्शन मिति यो वर्षको जनैपूर्णिमामा तय गरेको थियो । सौर्य दैनिकमा खबर छ । तर, कोरोनाका कारण चलचित्रको छायांकन नै पूरा हुने सकेन ।

चलचित्रको पर्दामा पहिलो पटक सहकार्य गर्न लागेका अभिनेता दयाहाङ राई र पल शाह उत्साहित देखिएका छन् ।

Back to top button