कांग्रेस (देउवा पक्ष) को जिल्ला अधिवेशन : शशांक सहित एक दर्जन नेता आज चरीकोट आउँदै, यस्तो छ र्यालीको रुट
दोलखा — नेपाली कांग्रेस (देउवा पक्ष) को दोलखा जिल्ला अधिवेशन भोलि कात्तिक २८ गते सदरमुकाम चरीकोटस्थित सातदोबाटो चोकमा भव्य रूपमा आयोजना हुँदैछ।
अधिवेशनलाई ऐतिहासिक, भव्य र सभ्य बनाउन आयोजक समितिले सम्पूर्ण तयारी पूरा गरेको छ भने स्वागत द्वार, झण्डा र ब्यानरले चरीकोट बजारलाई झकिझकाउ पारिएको छ।
कोइरालाको नेतृत्वमा एक दर्जन हेभिवेट नेता आउँदै
अधिवेशनको उद्घाटन गर्न १५ औँ महाधिवेशन तयारी समितिका संयोजक एवं प्रभावशाली नेता डा. शशांक कोइराला आजै चरीकोट आउँदै हुनुहुन्छ।
कोइरालासँगै पार्टीका शीर्ष नेताहरू एनपी साउद र मोहनबहादुर बस्नेत सहित करिब एक दर्जन केन्द्रीय नेताहरू आजै दोलखा आइपुग्ने कार्यक्रम तय भएको छ। अधिवेशनको उद्घाटन सत्रमा केन्द्रीय नेताहरू भूपेन्द्रजंग शाही, भूपेन्द्र राई, कुन्दनराज काफ्ले, राजु श्रेष्ठ, नेविसंघ र तरुण दलका केन्द्रीय अध्यक्षहरूका साथै जिल्लाका स्थापित नेताहरू ताराबहादुर कोइराला, रुद्रबहादुर खड्का लगायतले विशेष सम्बोधन गर्नेछन्।
२८ गतेको अधिवेशन र नयाँ नेतृत्वको तीव्र सरगर्मी
भोलि कात्तिक २८ गते हुन गइरहेको यस अधिवेशनलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण र विशेष महत्त्वका साथ हेरिएको छ। सभापति शेरबहादुर देउवापछिको पार्टीको भावी दिशा, गुटगत समीकरण र आसन्न १५ औँ महाधिवेशनको पूर्वसन्ध्यामा हुन लागेको यस जिल्ला अधिवेशनले दोलखा कांग्रेसमा नयाँ र सक्षम नेतृत्व चयन गर्नेछ।
जिल्लाको भावी नेतृत्व आफ्नो पक्षमा पार्न आकांक्षीहरूको दौडधुप तीव्र भएसँगै चरीकोटमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
विशाल मोटरसाइकल र्यालीको रुट तय
अधिवेशनको दिन शक्ति प्रदर्शनसहित निकालिने विशाल मोटरसाइकल तथा बाजागाजासहितको र्यालीको रुट समेत सार्वजनिक गरिएको छ।
तय गरिएको कार्यतालिका अनुसार सातदोबाटोबाट सुरु हुने र्याली बसपार्क, फर्केर सातदोबाटो, पाटीखोला, मिलिजुली डाँडा हुँदै पार्टी कार्यालय निस्कनेछ। त्यसपछि पशुपती डाँडा, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालतको बाटो, पुरानो बजार, भालुखोला र बीच बजार हुँदै पुनः सातदोबाटो चोकस्थित मूल कार्यक्रम स्थलमा पुगेर बृहत् कोणसभामा परिणत हुनेछ।
जिल्लाभरका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहने अनुमान गरिएको यस अधिवेशनले दोलखा कांग्रेसको आन्तरिक संगठनलाई थप चलायमान बनाउने विश्वास लिइएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस