अब मेलुङ गाउँपालिकाबाटै प्यान दर्ता तथा करदाता सेवा पाइने

सुनौलो अनलाइन
१२ मंसिर २०८३, शुक्रवार

दोलखा — दोलखाको मेलुङ गाउँपालिकाका नागरिक तथा व्यवसायीहरूले अब स्थानीय स्तरमै आधारभूत करदाता सेवा पाउने भएका छन्। आन्तरिक राजस्व कार्यालय धुलिखेल र मेलुङ गाउँपालिकाबीच स्थानीय स्तरमै करदाता सेवा सहज र प्रभावकारी रूपमा प्रदान गर्ने उद्देश्यले आज (शुक्रबार) द्विपक्षीय सम्झौता सम्पन्न भएको हो।

​शुक्रवार सम्पन्न सम्झौताअनुसार अब गाउँपालिकाका नागरिक, व्यवसायी तथा सेवाग्राहीहरूले स्थायी लेखा नम्बर (PAN) दर्ता तथा नवीकरण, करसम्बन्धी आवश्यक जानकारी तथा परामर्श र अन्य आधारभूत करदाता सेवाहरू गाउँपालिकामार्फत नै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

​यस व्यवस्थासँगै सामान्य कर सेवाका लागि टाढाको कार्यालय धाउनुपर्ने बाध्यता र खर्च घट्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले बाँकी रहेका प्राविधिक तथा प्रशासनिक प्रक्रियाहरू छिटोभन्दा छिटो सम्पन्न गरी विधिवत् रूपमा केही समयपछि गाउँपालिकाको कार्यालयबाटै सेवा सञ्चालनमा ल्याइने जानकारी गराएको छ।