खरिढुङ्गा म्याग्नेसाइट : २७ वर्षदेखि फाइलमा थुनिएको औद्योगिक सपना

सुनौलो अनलाइन
११ मंसिर २०८३, बिहिवार

– राज कुमार सुवेदी
गौरीशङ्कर बहुमुखी क्याम्पस, दोलखा

​दोलखाको खरिढुङ्गास्थित नेपाल ओरियन्ड म्याग्नेसाइट उद्योग नेपालको औद्योगिक इतिहासको एउटा विडम्बनापूर्ण उदाहरण बनेको छ। प्राकृतिक स्रोतको प्रचुरता, ठूलो सरकारी लगानी, विदेशी साझेदारी र औद्योगिक विकासको महत्त्वाकाङ्क्षासहित स्थापना गरिएको यो उद्योग आज आफैँमा एउटा अनुत्तरित प्रश्न बनेर उभिएको छ— राज्यले आफ्नै अमूल्य सम्पत्ति उपयोग गर्न नसक्नुको जिम्मेवार को हो ?

२०३६ सालमा स्थापना भएको यो उद्योग २०५५ मङ्सिर २५ देखि पूर्ण रूपमा बन्द छ। झन्डै तीन दशकदेखि उत्पादन ठप्प हुँदा खानी, विशाल जग्गा, भवन र करोडौँका संरचना खण्डहर बन्दै गएका छन्। उद्योग स्थापना गर्दा देखिएको समृद्धिको सपना अहिले सरकारी दराजका फाइल, अध्ययन प्रतिवेदन र सस्ता चुनावी घोषणामा सीमित भएको छ। समय फेरियो, व्यवस्था फेरियो, दर्जनौँ मन्त्री र सचिव फेरिए; तर खरिढुङ्गाको नियति फेरिएन। हरेक नयाँ नेतृत्वले उद्योग चलाउने प्रतिबद्धता त दोहोर्‍यायो, तर उत्पादन सुरु गर्ने ठोस मिति कसैले दिन सकेन। यो केवल एउटा उद्योगको असफलता होइन, सार्वजनिक सम्पत्ति व्यवस्थापनमा राज्यको चरम उदासीनता र जवाफदेहिताहीनताको जीवन्त प्रमाण हो।
​अध्ययनको अन्त्य कहिले, निर्णयको सुरुवात कहिले ?
नेपाल सरकारले २०८२ वैशाख १५ को मन्त्रिपरिषद् निर्णयबाट लामो समयदेखि बन्द रहेका सात सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र पुनः सञ्चालनको प्रक्रिया अघि बढाएको थियो। सोही क्रममा नेपाल ओरियन्ड म्याग्नेसाइटको सम्पत्ति तथा दायित्वको विस्तृत लेखापरीक्षण (DDA) गर्न अर्थ मन्त्रालयले परामर्शदाता छनोट प्रक्रिया थाल्यो। २०८२ चैत १६ मा प्रेमबहादुर पाण्डेको नेतृत्वमा अध्ययन समितिसमेत गठन भयो। तर, २०८३ असोज २२ मा अर्थ मन्त्रालयले संसद्मा दिएको जवाफअनुसार उद्योगको DDA प्रतिवेदनसमेत तयार हुन सकेको थिएन। प्रतिवेदन आएपछि सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा जाने मन्त्रालयको भनाइ थियो।

यहाँ स्वाभाविक प्रश्न उठ्छ— २०५५ सालदेखि बन्द उद्योगको भविष्य निर्धारण गर्न राज्यलाई अझै कति दशक चाहिन्छ ?

कम्पनीको वास्तविक वित्तीय अवस्था नबुझी लगानीको निर्णय गर्नु पक्कै उचित हुँदैन, तर अध्ययन आफैँमा लक्ष्य बन्नु हुँदैन। स्पष्ट समयसीमा र कार्यान्वयनको खाकाबिनाका अध्ययन समितिहरूले केवल राज्यको व्ययभार मात्र बढाउँछन्। सरकारले अब अध्ययनको प्रगति होइन, उद्योग सञ्चालनको ठोस कार्यतालिका सार्वजनिक गर्नुपर्छ।

खानी कि बहुमूल्य जग्गाको चलखेल ?
खरिढुङ्गा म्याग्नेसाइटको महत्त्व केवल खानीमा मात्र सीमित छैन। खरिढुङ्गा र लामोसाँघुमा गरी उद्योगको नाममा करिब ५ हजार ५६६ रोपनी विशाल जग्गा र औद्योगिक पूर्वाधार छ। दशकौँको अन्तरालमा आसपासको जग्गाको बजार मूल्य आकासिएको छ, तर यति ठूलो राष्ट्रिय सम्पत्ति उत्पादन र रोजगारी सिर्जनामा प्रयोग हुन सकेको छैन।
​यहीँबाट अर्को गम्भीर संशय पैदा हुन्छ— सरकारले उद्योगको मूल्याङ्कन पुरानो सरकारी लगानीका आधारमा गर्छ कि आजको वास्तविक बजार मूल्यका आधारमा ? विस्तृत लेखापरीक्षणले जग्गाको वर्तमान मूल्य, खानी अधिकार, संरचनाको उपयोगिता, वातावरणीय दायित्व र ऋणको छुट्टाछुट्टै यथार्थपरक हिसाब निकाल्नुपर्छ।

सार्वजनिक सम्पत्तिको अवमूल्यन गरेर निजी लगानीकर्तालाई पोस्ने वा जग्गा महँगिएको बहानामा उद्योग सञ्चालन असम्भव देखाएर भू–माफियालाई चलखेल गर्न दिने कुनै पनि प्रवृत्ति स्वीकार्य हुन सक्दैन। खरिढुङ्गाको जग्गा घरजग्गा कारोबारको थलो होइन, राष्ट्रिय औद्योगिक सम्पत्ति हो।

पुरानो सेयर संरचनाको अदृश्य गाँठो
उद्योग पुनः सञ्चालनको बाटोमा पुरानो सेयर स्वामित्व अर्को जटिल गाँठो बनेर अड्किएको छ। स्थापनाकालमा नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्ट्रिज लिमिटेडको १२.५ प्रतिशत र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको १२.५ प्रतिशत सेयर थियो। उडिसा इन्डस्ट्रिजले आफ्नो सेयरबापत करिब ३ करोड ७५ लाख रुपैयाँ भुक्तानी पाइसकेको विवरण सार्वजनिक भए पनि कानुनी रूपमा सेयर हस्तान्तरण भए–नभएको अझै स्पष्ट छैन।

अर्कोतर्फ, मोहनगोपाल खेतानको निधनपछि उनको भागको १२.५ प्रतिशत सेयरको कानुनी उत्तराधिकार कसको नाममा छ भन्ने विषय पनि अनिर्णीत नै छ।
​कम्पनी ऐन, २०६३ अनुसार पुँजी पुनर्संरचना वा सेयर हस्तान्तरण सम्भव छ, तर पुराना सेयरधनीको कानुनी अधिकारलाई मनपरी खारेज गर्न मिल्दैन। विवादलाई ढाकछोप गरेर होइन, पारदर्शी रूपमा कानुनी निकास निकालेर मात्र नयाँ लगानीका लागि बाटो खोल्न सकिन्छ।

विदेशी चासो तर अनिर्णीत सरकार
२०८३ वैशाखमा अस्ट्रेलियाका लगानीकर्ताको प्राविधिक टोलीले खरिढुङ्गाको स्थलगत अध्ययन गरेको र भारतीय साझेदार ओरियन्ड कम्पनीले समेत पुनः सञ्चालनको प्रस्ताव पठाएको समाचारले स्थानीयमा केही आशा जगाएको थियो। तर, लगानीकर्ताको सामान्य चासो र औपचारिक सम्झौताबीच ठूलो खाडल हुन्छ।

अस्ट्रेलियाली टोलीको अध्ययन प्रतिवेदन कहाँ थन्किएको छ ? भारतीय कम्पनीको प्रस्तावको हैसियत के हो ? लगानीकर्ता छनोट प्रतिस्पर्धात्मक बोलपत्रबाट हुन्छ कि अपारदर्शी वार्ताबाट ? अनि खानी र जग्गाको स्वामित्व कसरी सुरक्षित रहन्छ ? यी प्रश्नको चित्तबुझ्दो जवाफ नदिई केवल विदेशी लगानीकर्ताको नाम भजाएर आशा बाँड्नु नागरिकप्रतिको धोका मात्र हो।

विगतको पाठ र कार्यान्वयनको खाँचो
विगतमा खानीबाट लामोसाँघुस्थित प्रशोधन केन्द्रसम्म म्याग्नेसाइट ओसार्न बनाइएको रोपवे सञ्चालनको केही समयमै बिग्रिएर थन्किएको थियो। महँगो ढुवानी र व्यवस्थापकीय कमजोरीकै कारण उद्योग धराशायी बन्यो। तसर्थ, अब थोत्रा मेसिन टालटुल पारेर उद्योग चल्दैन; आधुनिक प्रविधि, ऊर्जा व्यवस्थापन, अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता र वातावरणीय पुनर्स्थापनासहितको नयाँ औद्योगिक योजना आवश्यक छ।

यसका लागि अर्थ मन्त्रालयले वित्तीय व्यवस्थापन, उद्योग मन्त्रालयले प्राविधिक तथा बजार सम्भाव्यता र मन्त्रिपरिषद्ले नीतिगत निर्णयको स्पष्ट जिम्मेवारी लिनुपर्छ। प्रतिवेदन बुझाएर पन्छिने अध्ययन समिति होइन, निर्णयलाई उत्पादनसम्म पुर्‍याउने अधिकारसम्पन्न ‘कार्यान्वयन कार्यदल’ आजको आवश्यकता हो।

निष्कर्ष
खरिढुङ्गा उद्योग चल्दा दोलखामा प्रत्यक्ष रोजगारी मात्र होइन, यातायात, होटेल, व्यापार र स्थानीय अर्थतन्त्रमा नयाँ प्राण भरिन्छ। राज्यले राजस्व पाउँछ र देशमै म्याग्नेसाइटमा आधारित उद्योगको ढोका खुल्छ। तर, उद्योग सञ्चालनको पहिलो सर्त प्रभावित स्थानीय समुदायको अधिकार, रोजगारीमा प्राथमिकता र वातावरणीय सुरक्षाको प्रत्याभूति हुनुपर्छ।

अन्त्यमा, खरिढुङ्गा म्याग्नेसाइटको समस्या स्रोत वा सम्भावनाको अभाव होइन, राजनीतिक इच्छाशक्ति र निर्णय क्षमताको अभाव हो। २७ वर्षदेखि बन्द उद्योगलाई अर्को अध्ययन प्रतिवेदनको बहानामा अझै बन्धक बनाइराख्नु राज्यको अक्षमता हो। अब दोलखाली जनता र आम नागरिकले सरकारलाई एउटै प्रश्न सोध्नुपर्छ— खरिढुङ्गाको ढोका कहिले खुल्छ, यसको जिम्मा कसले लिन्छ र सार्वजनिक सम्पत्तिबाट जनताले लाभ कहिले पाउँछन् ?