अण्डाको गेट मूल्य घट्यो, उपभोक्ता मूल्यमा मनपरी

काठमाडौं । अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका छन् । अण्डाको मूल्य घटेको १ साताभन्दा बढी समय भइसक्दा पनि व्यापारीहरूले उपभोक्तालाई विक्री गर्ने मूल्यमा भने कुनै हेरफेर गरेका छैनन् ।

बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालो बजारी नियन्त्रण गर्ने सरकारी निकायले अनुगमनमा प्रभावकारिता नदेखाउँदा राजनीतिक तरलताको फाइदा उठाउँदै व्यापारीले उपभोक्तासँग मनपरी रूपमा मूल्य लिने गरेको बताइएको छ । खानेतेल, चामल र डन्डीको मूल्यमा मनपरी गरिरहेका व्यापारीहरूले पछिल्लो समय अण्डाको मूल्यमा समेत मनपरी गरिरहेको सरोकारवालाहरूको भनाइ छ ।

नेपाल अण्डा उत्पादक संघले दिएको जानकारीअनुसार करीब १ सातायता ठूलो अण्डाको गेट मूल्य प्रतिक्यारेट १५ रुपैयाँले घटेर ३ सय ४० बाट ३ सय २५ रुपैयाँ कायम भएको छ । त्यसैगरी सानो अण्डाको मूल्य प्रतिक्यारेट ३ सय १० रुपैयाँबाट घटेर ३ सय रुपैयाँ कायम भएको छ । तर, उपभोक्ताले प्रतिक्यारेट ४ सय रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

घटेको मूल्यअनुसार उपभोक्तालाई व्यापारीले सानो अण्डाको मूल्य बढीमा प्रतिअण्डा १२ रुपैयाँ र ठूलो अण्डा १३ रुपैयाँसम्ममा विक्री गर्नुपर्ने हो । तर, व्यापारीले सानो र ठूलो दुवै अण्डाको मूल्य प्रतिगोटा १५ रुपैयाँसम्मले विक्री गरिरहेको पाइएको छ । अहिले अण्डाको उत्पादन बढेकाले मूल्य घटेको संघले बताएको छ ।

Back to top button