नेपाली फुटबल टोली इराक तर्फ प्रस्थान

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप खेलनको लागि नेपाली फुटबल टोली इराक तर्फ प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत त्यसतर्फ गएको हो ।

कतार पुगेको नेपाली टोली आज त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको छ । टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल पनि टोलीसँगै जानुभएको छ ।

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जाने कार्यक्रम तय भएको छ । त्यहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपाले यसअघि ५ खेल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

नेपाली टीममा जाने खेलाडि तथा अफिसियलहरु

गोलरक्षकमा तीनजना किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की रहेका हुनुहुन्छ भने डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी रआयुष घलान रहनुभएको छ । फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेको एन्फाले जनाएको छ ।

यस्तै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी, प्रशिक्षक किरण श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक, विकास मल्ल र फिजियो, आविष्कार पुडासैनी पनि टोलीसँगै जानुभएको छ । अन्य अफिसियलहरुमा मधुसुदन उपाध्याय, रमेश कुमार सिलवाल, शिक्षित पराजुली, शिरिष राजभण्डारी, विकास गुरुङ, सैलेन्द्र अधिकारी, हिम विक्रम केसी र कृष्णभक्त मानन्धर टीममा जानुभएको छ ।

Back to top button