
काठमाडौं ।नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।
बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन। नेपालले खेलको ३६ मिनेटमा अग्रता लियो। नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको थियो
भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सक्नुभएन ।
खेलको ६० मिनेटमा भारतले बराबरी गोल फर्कायो। भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल हुनुभयो ।
भारतीय कप्तान सुनील क्षेत्रीले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गर्नुभएको थियो । जुन प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बूले राम्रोसँग नियन्त्रणमा लिन सक्नुभएन ।
खेल सकिन १० मिनेट बाँकी छँदा नेपालले अग्रता लिने राम्रो अवसर खेर फाल्यो। मनिष डाँगीको क्रसमा विशाल राईले डिबक्सभित्रबाट फितलो प्रहार गर्नुभएको थियो ।
८३ मिनेटमा भारतले पनि अग्रता लिने मौका गुमायो। भारतका लागि मनविर सिंहले डिबक्स बल पाए पनि राम्रो पास दिन सक्नुभएन् ।
दोस्रो हाफको इन्जुरी टाइममा सब्सिच्युट खेलाडी कमल थापाले सिक्स यार्डबाट हेड गरे पनि गोलपोस्ट दिशा लिन सकेन।
नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ।
दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।