इन्टर मिलान दुई खेलबाट ६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा

काठमाडौं । योहाक्विन कोरेयाको दुई गोलप्रेरित इन्टर मिलानले इटालियन सिरी एमा शुक्रबार राति भेरोनाविरुद्ध १–३ गोलको नतिजामा जित निकालेको छ ।

भेरोनाको मैदानमा भएको खेलको १५औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । इभान इलिचले गोल गर्दै भेरोनालाई अग्रता दिलाउनु भएको थियो । पहिलो हाफसम्म १–० को अग्रता कायमै राखेको भेरोनाले दोस्रो हाफमा अग्रता बचाउन नसक्दा पराजित हुनुपर्यो ।

दोस्रो हाफको सुरुआतमै लौटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई बराबरीमा ल्याउनु भएको थियो । भ्रमणकारी टोलीको निरन्तर दबाबमा रहेको भेरोनाले थप दुई गोल अन्तिम १० मिनेटको समयमा खाएको थियो ।

माटेओ डर्मियानले दिएको पासमा कोरेयाले ८३औं मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गर्नु भएको थियो । खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै कोरेयाले इन्टरको पक्षमा १–३ को रोमाञ्चक जित सुनिश्चित गर्नुभयो।

जितसँगै साविक विजेतासमेत रहेको इन्टर मिलान दुई खेलबाट ६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । पराजित भेरोना भने दुई खेलमा अंकविहीन रहँदै १९औं स्थानमा छ ।

Back to top button