भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद देखिए प्रहरीलाई जिम्मा लगाइने

सुनौलो अनलाइन
३० साउन २०८२, बिहिवार

काठमाडौ । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद भेटिए सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

भिजिट भिसा प्रणालीलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यस्तो कदम चालिएको विभागका प्रवक्ता टिकाराम ढकालले बताए। उनले भने, ‘भिजिट भिसा विदेश जान चाहने यात्रुले प्रयोग गरेका कागजातमा शंका लागे अब सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरिएको छ। यसले भिजिट भिसा प्रणालीलाई सहज र प्रभावकारी बनाउने छ।’

यसअघि शंकास्पद कागजात पेश गरी प्रस्थान गर्न खोज्ने यात्रुको भ्रमणलाई रोक्ने काम मात्रै हुँदै आएको थियो।