आक्रमण नियोजित थियो तर मलाई जेनजीले नै बचाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफूमाथि भएको आक्रमणबारे ११२ दिनपछि मुख खोलेका छन् ।
आफूमाथि भएको आक्रमणबारे यतिका दिनसम्म केही नबोलेका सभापति देउवाले मंगलबार केही पत्रकारसँग संवाद गरे ।
संवादमा देउवाले आफू र आफ्नो परिवारसहित कांग्रेसमाथि भएका आक्रमण पूर्वनिर्धारित र नियोजित भएको जिकिर गर्दै हुलमुलमा छिरेका जेनजीले नै आफूहरूको ज्यान जोगाएको बताए ।
उनले कांग्रेस पार्टी र कांग्रेसका नेता तथा निजी सम्पत्तिमा सबैभन्दा धेरै आक्रमण हुनुलाई नियोजित भनेका हुन् । “किसुनजीका आश्रममा आक्रमण भएको छ र सुराही पनि फुटाइएको छ, लोकतन्त्र–निष्ठावादी किसुनजीका आश्रम र सुराहीमाथि आक्रमण भएको छ,” देउवाले प्रश्न गरे, “भ्रष्टाचारविरोधी सुशासन पक्षधर अभियन्ताले त्यसरी आक्रमण गर्न सक्छ र ?”
उनले दाबी गर्दै भने, “कांग्रेसमाथि नियोजित आक्रमण भएको थियो । त्यो आक्रमण जेनजीको थिएन । बरु हुलमुलमा छिरेका जेनजीहरूले हाम्रो ज्यान बचाएका हुन् ।”
देउवाले आफूहरूको ज्यान सुरुमा मानवीयता भएका जेनजीहरू र त्यसपछि सुरक्षाकर्मी (नेपाली सेना)को जिम्मेवार कदमबाट मात्र जोगिएको बताए ।
उनले सेनाको हेलिकोप्टरबाट उद्धार गर्नसमेत अवरोध गरेको र आफूहरूलाई मार्ने षड्यन्त्रमा नेपाली सेनाको टोलीले आफ्नो ज्यान नै हत्केलामा राखेर सुरक्षा प्रदान गरेको बताए ।
दिनभर पैदल, सवारी र हेलिकोप्टर कतैबाट पनि उद्धार गर्न सम्भव नभएपछि रातिमात्र आफूहरूलाई सेनाको टोलीले उद्धार गरेको उनको भनाइ छ ।
आफ्नो ज्यान जोगाउन जेनजीहरू आएको घटना सुनाउँदै गर्दा देउवाले पञ्चायतकालमै आफूहरुलाई नवलपरासीको सुरजपुरामा घरमा थुनेर आगो लगाएको घटना र कैलालीमा माओवादीहरूबाट भएको आक्रमणजस्तै भएको बताए ।
नियत सिध्याउने नै भए पनि संयोग अर्कै जुरेर आफ्नो ज्यान जोगिएको उनले स्मरण गरे । सुरजपुरा घटनाका बेला आफ्नो ओठमा लागेको चोट अझै नपुरिएको पनि उनले सुनाए ।
आफू पटक–पटक आक्रमणमा परे पनि त्यसरी आक्रमण गर्नेहरूमाथि प्रतिशोध साँधेर कहिल्यै नहिँडेको र अब पनि नहिँड्ने उनको भनाइ थियो ।
जेनजी प्रदर्शनमा आक्रमणको पहिलो तारो कांग्रेस बनेको उनले बताए । करिब ६० प्रतिशत आक्रमण कांग्रेस नेता र कांग्रेसका घरमा भएको भन्दै सुशासनको नारा र आक्रमण फरक–फरक भएको उनको बुझाइ छ ।
“लोकतन्त्रका पक्षमा रहेका र सुशासन चाहने जेनजीले नेपालको लोकतन्त्रीकरणका योद्धा कोइराला निवासमा आगो लगाउन सक्छन् र ? म यस्तो परिकल्पना गर्दिन,” देउवाले भने, “भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेले सन्त नेता किसुनजीको सुराही फुटाउँछन् ? आश्रममा आगो लगाउँछन् ?”
यी सबै तथ्यले लोकतान्त्रिक शक्तिमाथि आक्रमण गर्ने नियोजित षड्यन्त्र जेनजीको बहानामा निस्किएको निष्कर्षमा उनी छन् । त्यस्ता तत्वहरूको खोजी हुन नसक्नुले चिन्ता बढाएको उनको भनाइ छ ।
देउवाले एमालेमा ओली र निकटहरूका घर लक्षित आक्रमण भएको, माओवादीमाथि छिटफुट मात्र आक्रमण भएको बताए । देउवाले भनेजस्तै राजावादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि कतै पनि आक्रमण भएको थिएन ।
नेताका घर, सरकारी कार्यालय र नेपालको धरोहर नष्ट गर्ने नियोजित षड्यन्त्रमा को–को संलग्न छन् भन्ने गहिरो अनुसन्धान होस् भन्ने पक्षमा देउवा छन् ।
“जेनजीहरूले उठाएका माग त सकारात्मक थिए । पार्टीहरूमा पनि उठिरहेका विषय थिए, त्यसको सम्बोधन जरुरी भइसकेको थियो,” देउवाले भने, “तर, एकै दिन देशभर एकै प्रकारका आक्रमण जेनजीहरूले गर्न सक्छन् ? ममाथि आक्रमण हुँदा जोगाउने जेनजीहरूजस्तै देशभरका जेनजीहरू त्यस दिनको घटनाबाट मर्माहत भएका हुनुपर्छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस