म्याद र जरिवाना अवधि दुवै सकियो: मुडे–कालापानी सडकको ठेक्का तोड्ने पुर्वाधार कार्यालयको तयारी
दोलखा / सिन्धुपाल्चोक । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल शैलुङ जोड्ने सिन्धुपाल्चोकको मुडे–बाघखोर–कालापानी सडक निर्माणमा चरम ढिलासुस्ती र लापरबाही भएपछि बाग्मती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले ठेक्का तोड्ने अन्तिम तयारी गरेको छ।
पटक-पटक म्याद थप्दा र नियम अनुसारको अधिकतम जरिवाना अवधिसमेत गुज्रिँदा पनि काम पूरा नभएपछि कार्यालय ठेक्का रद्द गर्ने निष्कर्षमा पुगेको हो।
७ पटक म्याद थप र २०० दिनको जरिवाना पनि समाप्त
बाग्मती प्रदेश सरकारको ३३ करोड ७७ लाख ५४ हजार रुपैयाँ लागतमा निर्माणाधीन १५ किलोमिटर सडक खण्डको ठेक्का महालक्ष्मी–द कन्चनजङ्गा–शुभकामना जेभीले लिएको थियो।
२०७६ असार ४ गते भएको सम्झौता अनुसार ५ वर्ष बितिसक्दा पनि काम नसकिएपछि ७ पटकसम्म म्याद थपिएको थियो।
पछिल्लो पटक म्याद सकिएपछि नियम अनुसार प्रतिदिन ठेक्का रकमको ०.०५ प्रतिशतका दरले दैनिक करिब १ लाख ४० हजार रुपैयाँ जरिवाना तिराउने गरी २०० दिनको अन्तिम समय दिइएको थियो। तर, जरिवाना तिराउने त्यो २०० दिनको कानुनी समयसीमासमेत सकिँदासम्म ठेकेदारले काम सम्पन्न गरेन।
सडक पुरै हिलाम्मे, सामाजिक सञ्जाल र स्थानीयको चर्को आक्रोश
हालसम्म १५ किलोमिटर मध्ये ९ किलोमिटर मात्र कालोपत्रे भएको छ भने समग्र प्रगति ८० प्रतिशतमा सीमित छ। बाँकी ६ किलोमिटर क्षेत्र निर्माण नहुँदा र खाल्डाखुल्डी नपुर्दा अहिले सिङ्गो सडक पुरै हिलाम्मे र दलदलमा परिणत भएको छ।
सडकको यो बिजोग अवस्थालाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणको तीव्र आलोचना र आक्रोश पोखिएको छ। हिलाम्मे सडकमा गाडी फसेका तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन् भने स्थानीयवासी तथा यात्रुहरूले ठेकेदार र सम्बन्धित निकायमाथि कडा प्रश्न उठाइरहेका छन्।
शैलुङ जाने पर्यटक र आलु तथा किवी बजार लैजाने स्थानीय किसानहरू हिलोका कारण दैनिक सास्ती भोग्न बाध्य छन्।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस