उर्लाबारीका नगर प्रमुखले सुरु गरे संक्रमितको शव व्यवस्थापन

मोरङ । उर्लाबारी नगरपालिका प्रमुख खडग फागोले कोरोना संक्रमितको शव व्यवस्थापनमा आफै खटिनु भएको छ ।

कोरोना संक्रमणले मृत्यु भएका उर्लाबारी २ घर भई तत्कालिन उर्लाबारी गाबिसका उपाध्यक्ष ६७ वर्षीय कुमार धिमालको शव व्यवस्थापनमा प्रमुख फागो आफै खटिनु भएको हो ।

२०५४ सालमा उर्लाबारी गाबिसमा उपाध्यक्ष निर्वाचित भएका धिमालको कोरोना संक्रमणले बुधबार झापाको बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

कोरोना संक्रमणले मृत्यु भएपछि आफन्त पनि टाढा टाढा बस्ने र परिवारका २/४ जना सदस्य मात्रै नजिक बस्ने गरेकाले पिडित झन् पिडित हुने सामाजिक अवस्था निर्माण भएकोले आफै पिपिई लगाएर धिमालको शव व्यवस्थापना गरेको उहाँले बताउनुभयो ।

समाजका अगुवा व्यक्तित्व गुमाएको अवस्थामा परिवारका सदस्यलाई साथ र सहयोगका साथै मनोवल बढाउनुका साथै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नका लागि शव व्यवस्थापनमा खटेको उहाँको भनाई थियो ।

कोरोना महामारीले यतिवेला समाजका व्यक्तिहरुमा सामाजिक उत्तरदायित्वको भावना समेत हराएको अवस्था रहेको फागोको भनाई छ ।

‘कोरोना संक्रमणले मृत्यु भएका परिवारजनलाई अहिले समवेदना प्रकट गर्न पनि कोही नजाने गरेको अवस्था छ,’ प्रमुख फागोले भन्नुभयो, ‘स्वास्थ्यसम्बन्धी सुरक्षात्मक उपाय अपनाएर भए पनि संक्रमितको हौसला बढाउनु पर्ने बेलामा अहिले समाजमा उल्टै हेला गर्ने गरेको अवस्था छ ।’

आफैले संक्रमितको शव व्यवस्थापनमा खट्दा अन्य सर्वसाधारणमा पनि भएको डर त्रास न्यूनीकरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उर्लाबारी नगरपालिकामा कोरोना संक्रमणले हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने २ सय जना कोरोना संक्रमित आइसोलेसनका साथै होमआइसोलेसनमा रहेको प्रमुख फागोले बताउनुभयो ।

Back to top button