कोभिड विरुद्ध लड्न ओखलढुङ्गा सल्लेरीका युवाको सकृयता

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं ८ का तीन युवाको सकृयताले अहिले यस क्षेत्रका जनतालाई राहत पु¥याएको छ । पहिलो पटक एक साता अघि देखापरेको कोरोनाको संक्रमण अहिलेसम्म ५४ जनामा फैलिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण गम्भीर विरामी भएका स्थानीयलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको सहज उपलब्धता नुहँदा समस्या हुदै आएको छ । यस्तै सुविधासम्पन्न अस्पताल र समयमा औषधीका लागि पनि समस्या हुने गरेको सल्लेरीका जनताको लागि यी युवा भरोसा बन्दै आएका छन् ।

उनीहरुले गाउँका २ जनालाई ३ लाख ३० हजारका दरले पैसा तिरेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाएका छन् । यस्तै आर्थिक अवस्था सामान्य भएकाहरुको उपचार गराउन सहयोग अभियान थालेका छन् । स्थानीय युवाहरु सर्वधन तामाङ, देशवीर तामाङ र युकेमा रहेका दीलीपकुमार तामाङले थालेको यो सामाजिक अभियानमा वडा नं ८ का वडाध्यक्ष हेमकुमार तामाङ, बुद्धिराज तामाङ, एकराज तामाङ, धनराज तामाङलगायतले साथ दिनुभएको छ ।

यीनै युवाहरुको समूहले अहिले गाउँका विभिन्न पेशा व्यवसायमा लागेकाहरुसँग आर्थिक सहयोग संकलन गर्न थालेको छ । उनीहरुको अभियानमा अहिले ९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको बताइएको छ । सो युवा समूहले संकलित रकमबाट औषधी, अक्सिमिटर, सुगर नाप्ने मेशिन, थर्मोमिटर, पीपीई सेट, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरु खरिद गरि आवश्यकताका आधारमा स्वास्थ्य संस्था र बिरामीलाई वितरण गर्ने गरेको छ ।

‘अभियान गाउँमा संक्रमण फैलिन नदिने हो,’ अभियानकर्तामध्येका एक सर्वधन तामाङले भन्नुभएको छ,‘ अभियानबाट कोरोनाको उपचारमा समस्या भएकाहरुलाई पनि सहयोग गरिरहेका छौं ।’ यस्तै विरामीलाई अस्पतालसम्म लैजान सहयोग भन्दै एउटा जीप भाडामा लिएर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको तामाङको भनाई छ । जीपले वडा नं ८ को वडाभरि सेवा दिनेगरी व्यवस्था मिलाइएको नवराज कार्कीले जानकारी दिनुभएको छ ।

Back to top button