कांग्रेस महाधिवेशन : दोलखाबाट महाधिवेशन प्रतिनिधिमा कुशल खड्का मैदानमा

सुनौलो अनलाइन
८ असोज २०८३, बिहिवार

दोलखा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सरगर्मी बढ्दै जाँदा दोलखा जिल्लाको राजनीतिक वृत्तमा नयाँ उत्साह देखिएको छ।

पार्टी संगठनलाई सुदृढ, गतिशील र समयसापेक्ष बनाउने संकल्पका साथ दोलखाबाट महाधिवेशन प्रतिनिधि पदमा तार्किक, बौद्धिक एवम् सफल व्यवसायी कुशल खड्काले आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन।

व्यावसायिक सफलतासँगै सामाजिक र राजनीतिक वृत्तमा राम्रो छवि बनाएका खड्काको आगमनले दोलखा कांग्रेसमा नयाँ वैचारिक बहस सिर्जना गरेको छ।

​पद प्राप्तिका लागि मात्र होइन, वैचारिक रूपान्तरणका लागि उम्मेदवारी
​आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै खड्काले यो उम्मेदवारी कुनै व्यक्तिगत पद हासिल गर्ने चाहना मात्र नभएको बताए। नेपाली कांग्रेसका मूल आदर्श—राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नयाँ पुस्ताको सोच, ऊर्जा र आकांक्षासँग जोड्नु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

आजको पुस्ताले बिपीका विचारलाई केवल भाषणमा मात्र सीमित नराखी सुशासन, समान अवसर, रोजगारी, उद्यमशीलता र प्रविधिसँग जोडिएको व्यवहारिक राजनीति चाहेकाले सोही अनुरुप पार्टीलाई अघिढाल्न आफू मैदानमा उत्रिएको उनले बताए।

व्यावसायिक परिपक्वता र नयाँ पुस्ताको ऊर्जाको संगम
​व्यवसाय क्षेत्रमा हासिल गरेको सफलता र प्रशासनिक अनुभवलाई पार्टी संगठन निर्माणमा लगाउने खड्काको योजना छ।

आफू ३५ वर्षमुनिको उमेर समूहमा नपरे पनि युवाको सोच, सपना र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै आएको बताउँदै उनले परिपक्व अनुभव र युवाको आवाजलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाए।

युवाहरू परिवर्तनका दर्शक मात्र नभई संवाहक र नेतृत्वकर्ता भएकाले देशमै स्वरोजगारको वातावरण बनाउन र पार्टीभित्र क्षमता तथा इमानदारीको कदर गर्ने थिति बसाल्न आफ्नो पहल रहने उनको भनाई छ।

​’विचार र संगठन बलियो बनाऔँ’: अमूल्य मतका लागि हार्दिक अपील
​दोलखाका प्रत्येक कांग्रेसजनको आशा र अपेक्षाको प्रतिनिधित्व गर्दै उहाँले पार्टीलाई गुटबन्दीभन्दा माथि उठाएर वैचारिक जगमा बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ।

पुरानो पुस्ताको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिने परिपाटी बसाल्न आवश्यक रहेको उहाँको ठहर छ।

सुदृढ कांग्रेस निर्माणका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकहरूमा आफ्नो अमूल्य मत, साथ र सहयोग प्रदान गरिदिनुहुन उम्मेदवार कुशल खड्काले हार्दिक अपील गरेका छन ।