दोलखा काङ्ग्रेसमा ‘सर्वसम्मतिको होहल्ला’: महाधिवेशन प्रतिनिधिमा नयाँ पुस्ता ओझेलमा पर्ने जोखिम
चारिकोट । नेपाली काङ्ग्रेसको १५ौँ महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर आन्तरिक राजनीति तताएको छ।
जिल्लाका पुराना र शीर्ष नेताहरू सर्वसम्मतिको नाममा सबै प्रतिनिधि पद भागबण्डा गरेर टुङ्ग्याउने कसरतमा जुटेका छन्।
तर, तल्लो तहका बहुसङ्ख्यक क्षेत्रीय प्रतिनिधि तथा उम्मेदवारहरूले भने “सर्वसम्मतिका नाममा सिन्डिकेट स्वीकार्य नहुने” भन्दै चुनावी प्रक्रिया (निर्वाचन) बाटै प्रतिनिधि छनोट गर्नुपर्ने जोडदार माग राखेका छन्।
निर्वाचनको माग र पुराना नेतामा पराजयको भय
दोलखा काङ्ग्रेसभित्र अहिले सहमतिको नाराभन्दा निर्वाचनको माग निकै बलियो बनेर उठेको छ। स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका अधिकांश युवा र नयाँ पुस्ताका उम्मेदवारहरूले सर्वसम्मतिलाई अस्वीकार गर्दै खुला मतदान प्रक्रियाको माग गरेका छन्।
”जिल्लाका पुराना र वर्षौँदेखि पद ओगटेर बसेका नेताहरूलाई कार्यकर्तामाझ गएर चुनाव लड्दा हारिने डर छ,” महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका दोलखाका एक युवा नेताले भने, “कार्यकर्ताको वास्तविक जनमत र लहर नयाँ पुस्ताको पक्षमा छ ।
पुराना नेताहरूलाई आफ्नो साख जोगाउनै मुस्किल पर्ने र चुनावी मैदानमा जाँदा पराजित हुने त्रास भएकाले नै सर्वसम्मत गर्न खोजिँदै छ। त्यसैले अधिकांश उम्मेदवार र प्रतिनिधिको माग निर्वाचन नै हो।”
पुस्तान्तरणको नारा र नयाँ पुस्ताको अडान
केन्द्रमा महामन्त्री गगन थापालगायतका नेताहरूले अघि सारेको “पार्टीमा पुस्तान्तरण र रूपान्तरण” को एजेण्डाबाट प्रभावित बनेर धेरै युवाहरू राजनीतिमा पुनः सक्रिय भएका छन्। तर, दोलखामा सर्वसम्मतिका नाममा तिनै पुराना अनुहारहरूलाई दोहोर्याउने र नयाँलाई फेरि ‘जय नेपाल’ मात्रै भन्न लगाउने परिस्थिति सिर्जना गर्न खोजिएको उम्मेदवारहरूको गुनासो छ।
स्रोतका अनुसार, काङ्ग्रेस विधानले तोकेको युवा र समावेशी कोटा पूर्तिका लागि मात्रै युवालाई प्रयोग गर्ने र खुलातर्फ पुराना नेताहरूले नै एकाधिकार जमाउने खेल भइरहेकाले त्यसलाई तोड्न पनि निर्वाचन अनिवार्य रहेको अधिकांशको ठहर छ।
सहमति कि निर्वाचन?
शीर्ष नेतृत्व अझै पनि आन्तरिक छलफलमार्फत सर्वसम्मतिको वातावरण बनाउने अन्तिम प्रयासमा छ। तर, महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका युवा नेताहरूले आफ्ना माग स्पष्ट पारेका छन् ।
दोलखा काङ्ग्रेसमा सर्वसम्मतिका नाममा पुराना नेताहरूको व्यवस्थापन मात्रै गर्न खोजिएमा युवा र अधिकांश प्रतिनिधिहरूको माग बमोजिम चुनाव हुने पक्का देखिएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस