काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन तीन वटा प्रस्ताव अघि सार्नु भएको छ । नेपालले आफू एकताको विपक्षमा नरहेको तर पार्टीमा सबैलाई उचित सम्मानको प्रत्याभूति हुनु आवश्यक रहेको बताउनु भएको हो ।
पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरुको दवावमा रहेका अध्यक्ष ओली र नेपालले एकताको बाटोको खोजीमा लाग्नुभएको छ । अध्यक्ष र वरिष्ठ नेताको अहंकारकाबीच दोस्रो तहका नेताहरु राजनीति दाउमा लगाउन नचाहेपछि उहाँहरु पार्टी एकता जोगाउन लचिलो बन्दै जानुभएको हो ।
वरिष्ठ नेता नेपालले पार्टी एकता जोगाउन समान हैसियतको अध्यक्ष हुनुपर्ने, अध्यक्ष मण्डल बनाउने र ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा लिनुपर्ने नेताहरुबीच प्रस्ताव राख्नु भएको हो ।
समान हैसियतको अध्यक्षमा ओली र दिल्लीमा उपचाररत झलनाथ खनाल हुनुपर्ने, अध्यक्ष मण्डलमा अध्यक्ष ओली, खनाल र बामदेव गौतम हुनुपर्ने र अध्यक्ष ओली र आफूले नेतृत्वबाट विदा लिएर नयाँ नेतृत्व चयन गर्नुपर्ने सर्त उहाँले अघि सार्नु भएको एक नेताले बताउनुभयो ।