उद्योगी व्यवसायीलाई खोप लगाउँदा स्थानीयको अवरोध

विराटनगर । प्रदेश सरकारले कोरोनाविरुद्धको खोप उद्योगी व्यवसायीलाई लगाइरहेको अवस्थामा स्थानीयले अवरोध गरेका छन् । सरकारले विराटनगरस्थित सिटी सिनेमा हलमा उद्योगी व्यवसायीलाई आज खोप लगाउने क्रममा स्थानीयले अवरोध गरेको हो ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पनि आफ्ना नजिकका मान्छेहरुलाई बोलाई बोलाई खोप लगाएकाले स्थानीय आक्रोशित हुनुभएको थियो ।

विराट समाजका अध्यक्ष अक्षय सहनीले सर्वसाधारणलाई घरमा थुनेर प्रदेश सरकारले पहुँचवालालाई लुकाएर खोप लगाइरहेको थाहा पाएपछि घेराउ गर्दा सबैको भागाभाग भएको बताउनुभयो ।

अग्रमोर्चामा खटिएकाहरुलाई दोस्रो डोज नपुगेको अवस्थामा सरकारले उद्योगी, व्यवसायी र आफन्त, नजिकका मान्छेका साथै नेता कार्यकर्तालाई खोप लगाएर के गर्न खोजेको हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

प्रहरीलाई समेत जानकारी नदिई सरकारले उद्योगी, व्यवसायीलाई खोप लगाउने अभियान सुरु गरेको थियो । स्थानीयको घेराउपछि असुरक्षित हुँदा मात्रै जिल्ला प्रहरीलाई खबर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले खोप लगाइरहेको बारे सुरुमा जानकारी नभएको तर स्थानीयले घेराउ गरेपछि मात्रै जानकारी आएको बताउनुभयो ।

Back to top button