भोजपुर कोभिड अस्पताललाई सहयोग जुट्दै

भोजपुर । भोजपुर कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम बढेको छ। अस्पताललाई सहजरुपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीहरुले ५१ हजार सहयोग गरेका छन् ।

प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरेको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

यस्तै अस्पतालको लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार रुपैयाँ बराबरको अक्सिजनसहित १० वटा सिलिन्डर प्रदान गर्नुभएको छ । श्रेष्ठले आफू कोभिडको बिरामी भएर उपचार गराउँदा अक्सिजनको आवश्यकता धेरै नै महशुष भएकोले अक्सिजन सहयोग गरेको बताउनुभएको छ ।

यसैगरि भोजपुर नगरपालिकाले ब्लड बैंक स्थापनाका लागि फ्रिज र नेपाल चिकित्सक संंघले भेन्टिलेटर वितरण गरेको छ। अस्पताल सञ्चालनको लागि आवश्यक सहयोग भइरहेपनि जनशक्ति व्यवस्थापनमा भने समस्या रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक मापदण्डअनुसार निर्माण गरेर यहाँका बिरामीलाई बाहिर नपठाउने गरी काम भइरहेको छ ।

भोजपुरमा बिहीबारसम्म एक हजार १ सय ३० जना संक्रमित भएका छन् भने ९ सय ६९ जना निको भएर फर्किएका छन्। पछिल्लो समय संक्रमितको संख्या घट्दै जान थालेपछि जिल्लामा यातयात सेवालाई आजदेखि खुला गर्ने निर्णय गरिएको छ।

पसलहरु स्वास्थ्य मापदण्ड पूरा गर्दै समय निर्धारण गरेर सञ्चालनको व्यवस्थापन गरिएको छ।

Back to top button