बौद्धिक अपाङ्ग विद्यार्थीको लागि निर्माणाधिन आवासीय भवनको ढलान सम्पन्न

पथरीशनिश्चरे । बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गर्दै मोरङको पथरीशनिश्चरे नगरपालिका बुद्धचोकमा रहेको पञ्चायत माविमा निर्माणाधिन सुविधासम्पन्न आवासीय भवनको दोस्रो तला ढलानको काम सम्पन्न भएको छ ।

प्रदेश सरकारद्वारा प्रदेशकै नमुना विद्यालयको रूपमा प्रवर्धन गर्रिएको पञ्चायत माविले पूर्वाधार विकास, भौतिक विकास, बहुपयोगी शैक्षिक कार्यक्रम, सीप प्रवर्धन र यसमार्फत रोजगारी सिर्जनाका क्षेत्रमा दर्जनौं काम गर्दै आएको छ ।

पछिल्लोपटक आवासीय भवन निर्माणको कार्यलाई कोरोना संक्रमणका बावजुद निरन्तरता दिइएको विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार अशक्त र बौद्धिक अपांग न्युनतम् २ सय जना विद्यार्थीलाई चाहिने आवश्यकीय सम्पूर्ण पूर्वाधार तयार हुने चरणमा रहेको हो ।

पञ्चायत माविको यो प्रगतिलाई स्थानीय एमालेका नेता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य युवराज बास्कोटाले ‘हाम्रो गहना, स्थानीय गौरव’ भएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालय विकास क्षेत्रअन्तर्गत शैक्षिक उन्नयनका लागि मोफसलमा रहेको पञ्चायत नमुना माविले प्राप्त गरेको यो प्रगति कार्यान्वयनले पथरीशनिश्चरेलाई क्रमशः राम्रो शैक्षिक–केन्द्रका रूपमा विकास गर्ने आधार तयार हुँदै गएको अनुभूति भएको बताउनुभयो ।

भवन निर्माणमा कार्यमा प्राचार्य बुढाथोकीसँगै विद्यालय व्यवस्थापनका पदाधिकारी आइताकुमारी तुम्बापो राई, गणेश खड्का, मोहनकुमार तुम्बापो, युवराज बास्कोटा, अमीर राई, टेकेन्द्र पौडेल, महेन्द्र ढुंगानालगायतका विद्यालयका शिक्ष तथा स्थानीय शिक्षासेवीहरुको सक्रिय सहभागिता रहँदै आएको छ ।

Back to top button