नेपाली फुटबल विवादको छानविन सकिएपछि प्रतिवेदन बुझाउने तयारीमा समिति

काठमाडौं । नेपाली फुटबलमा चलिरहेको विवादको छानबिन गर्न बनेको समितिले छानविन सकेको छ । गत साउन १९ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)विवाद छानविनका लागि पुरेन्द्रबिक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।गठन गरिएको समितिले छानविन सम्पन्न भएकोले प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ ।

समितिले घटनामा संलग्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसहित १४ जनाको बयान लिएको थियो ।

समितिका सदस्य सुर्वण श्रेष्ठले छानबिनको सबै प्रक्रिया पूरा भएको र अब प्रतिवेदन बुझाउन मात्र बाँकी रहेको बताउनुभयो । उक्त प्रतिवेदन केही दिनमा मन्त्रालयमा बुझाइसक्ने श्रेष्ठले बताउनुभयो ।

राखेपले फुटबल विवादको छानबिन गर्न समितिलाई ७ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्न भनेको थियो । राखेपले दिएको समय गत शुक्रबार नै सकिएको थियो । समितिले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसक्दा ७ दिनको समय थप गरेको थियो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबाट बयान सुरु गरेको समितिले शुक्रबार अन्तिममा घटनाका केन्द्रीय पात्र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सँग सोधपुछ गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले काम गर्ने वातावरण नपाएको भन्दै राजीनामा दिने सामाजिक सञ्जाल मार्फत बताउनुभएको थियो । अलमुताइरीको फेसबुक पोस्टपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो । दुवै पक्षले घटनाको छानबिन गर्न भन्दै एन्फामा निवेदन दिएका थिए ।

उक्त घटनापछि एन्फाको कार्यसमिति बैठकले घटनाको छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही घटनालाई मन्त्रालयले छानबिनका लागि राखेपलाई पत्राचार गरेको थियो ।

 

Back to top button